राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जनाएको हो ।
सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा आइतबार अभियोग दर्ता भएपछि उनको सांसद निलम्बित भएको हो ।
संसद् सचिवालयले एक सूचना प्रकाशित गर्दै भनेको छ, ‘...सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।