logo-img

प्रधानमन्त्री ओलीको कटाक्षमाथि आमा छोराले दिए यस्तो सन्देश [भिडियोसहित]

विश्वविद्यालयको कुलपति स्वतः प्रधानमन्त्री रहने मान्यता यथावत् छ । तर, कुलपतिकै हैसियतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रायजसो अभिव्यक्तिमा भने उच्चशिक्षा हासिल गरेका व्यक्तिहरूप्रति बारम्बार कटाक्ष गरेको देखिन्छ । 

पढेका र पढिरहेकाहरूको मानमर्दन गर्नु आफ्नो कर्तव्य नै भए जसरी उनले लिएको पाइन्छ । स्वअध्ययनमा कन्जुस्याइँ नगर्ने प्रधानमन्त्री ओलीले उच्चशिक्षा हासिल गरेकाहरूलाई इंगित नै गरी व्यङ्ग्य गर्नु उनीभित्रको कुण्ठा हो वा मपाइँत्व ​ धेरै जना अन्योलमा छन् ।

हालै उनले एक जना ८ विषयमा ‘मास्टर’ गरेको व्यक्ति भेटेको बताउँदै त्यसरी पढ्नुको खासै अर्थ नहुने बताएका थिए । तर, पढ्नेहरू भने अनेकौँ बाधा व्यवधानका बीच पनि पढेरै छाड्छन् । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दीक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरू आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् । संघर्षपछिको सफलता साट्न आतुर छन् । 



सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोसाकको जोहो गरिरहेका हुन् ।

यसै सिलसिलामा सँगै दीक्षित हुने तयारीमा रहेका आमा र छोराले खुसी साटेका छन् । उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल) र उनका छोरा अभिनव सिलवाल एकसाथ दीक्षित हुने तयारी छन् ।



खुसी साट्दै लक्ष्मीले भनिन्, ‘म अहिले ५० नाघिसकेँ । ललितपुरको नमुना मच्छिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ । पढाइ छाडेको २० वर्ष भयो । घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन । तर अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु र दीक्षान्तको तयारीमा छु ।’ 

उनले खुसी हुँदै अगाडि भनिन्, ‘मैले मेरा बच्चाहरूसँगै बसेर पढेँ । परिवारको साथ र सहयोगले पढाइ पुरा गरेर दीक्षित हुने रहर लागेको हो । म अहिले औधी खुसी छु । पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु । मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु । गाउन लगाएर छोरासँगै दीक्षित हुने रहर पूरा गर्दै छु ।’ 



छोरा अभिनवले आफ्नी आमासँगै पढाई पूरा गरेर दीक्षित हुने तयारी गर्न पाउँदा खुसी लागेको सुनाए । उनले भने, ‘यो मेरा लागि खुसीको पल हो । आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले शिक्षितहरूमाथि मजाक गरे पनि शिक्षा प्रतिको लगाव घट्दैन भन्ने उदाहरण हुन, यी आमा–छोरा । हेर्नुहोस् भिडियो : 

यो पनि पढ्नुहोस् : पढेलेखेकालाई किन मन पराउँदैनन् प्रधानमन्त्री ओली ? [भिडियोसहित]

  • प्रकाशित मिति : पुस ८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया