पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । त्यहाँका केही जिल्लाको पहाडी तथा हिमाली भू–भागमा हिमपातसमेत भएको छ ।
सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकोमा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए ।
आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ ।
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे ।
विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ । यसअघि ४ पुसमा काठमाडौंको तापक्रम चार दशमलव आठ डिग्री थियो ।
यस्तै, सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा ४ पुसमा त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्यूनतम् तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।