logo-img

कांग्रेसले काँध फेर्न सक्ने आशङ्कामा त्रसित छन् प्रधानमन्त्री ओली [भिडियोसहित]
शीर्ष नेताले घर्काउँदै समय व्यर्थ, सरकार ढल्दैन भन्नमै छन् व्यस्त

सत्ताको बागडोर सम्हालिरहेका एमाले कांग्रेसका शीर्ष नेताहरू  प्रायः कार्यक्रममा ‘यो सरकार कुनै हालतमा ढल्दैन’ भन्ने रटान लगाउँदै आएका छन् । सरकारले गर्नुपर्ने थुप्रै काम त छँदै छ तर, ती कामभन्दा सरकार लामो समयसम्म चल्नेमा आश्वस्त बनाउनु नै उनीहरू पहिलो काम जसरी प्रस्तुत भइरहन्छन् ।  

भारतको गुप्तचर संस्था (रअ)का पूर्वएजेन्ट लक्की विष्टले केही दिनअघि  ‘नवभारत टाइम्स’सँगको कुराकानीमा १० देखि एक महिनाभित्र केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरे ।  उनले भनेका थिए, ‘आज १२ डिसेम्बर हो, तपाईँ नोट गर्नुहोस्, केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, १०, १५, २०, २५ दिन, एक महिनामा नेपालको अहिले सरकार ढल्दै छ ।’

‘रअ’का पूर्वएजेन्टको अभिव्यक्तिकै कारण अहिलेको सत्तारुढ दलमाझ हलचल ल्याएको सजिलै देखिन्छ । विपक्षी दलहरूले ओली नेतृत्वको सरकार अहिले स्थिर नभएको बताइरहँदा विष्टको ‘खुलासा’ले विपक्षी दललाई थप बल पुगेका अवस्था छ । रअका पूर्वएजेन्टको यस्तो दाबीले नेपालमा हालैका दिनमा देखिएका राजनीतिक उतारचढाव र सत्ता समीकरणका विषयले यसलाई थप चासोको विषय बनाएको हो । 

विष्टको अभिव्यक्ति सार्वजनिक भएसँगै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार नेपाली कांग्रेससँगको सहकार्य ०८४ को निर्वाचनसम्म कायम रहने प्रष्टीकरण दिइरहेका छन् । प्रधानमन्त्री ओलीले सरकार ढल्दैन र सहमतिअनुरूप शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन् भनिरहनुले ओली त्रसित रहेको टिप्पणी राजनीतिकवृतमा चलिरहेको छ । 



नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसमा ३ पुस  बुधबार  मा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई सुशासनको बाटोमा फर्काउन कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपरेको बताएका थिए । 



‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ,’ ओलीले भने, ‘हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् ।’

कांग्रेसका महामन्त्री गगन थापाले पनि पछिल्लो समय विभिन्न कार्यक्रममा सम्बोधन गर्ने क्रममा यो सरकारले तीव्रता  पाउने स्पष्टीकरण दिइरहेकै छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका थिए । 



‘मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा जाँदै छन् भन्ने पनि छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनको जवाफ थियो, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन ।’ 

यस्तै होडबाजीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी गरे । आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफमा उनले वर्तमान सरकार आउँदो निर्वाचनसम्मै जाने जिकिर गरे ।

‘काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ । हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो । सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराएजस्तै हो । यो सरकार चलिरहन्छ,’ उनले भनेका थिए । 

सरकार बनेको केही समयदेखि नै सरकारको आयुबारे बोल्दै आएका ओलीले दुई दलबीचको सहकार्य पाँचौँ महिनामा पुग्दा पनि बारम्बार दोहोर्‍याउँदै आएका छन् ।  दुई ठूला पार्टी मिलेर बनेको गठबन्धन सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीले नै बारम्बार सरकार बलियो छ भनेर बोलिरहँदा धेरैले भने आशङ्का गर्न थालेका हुन् । 

आशङ्कामाथि बल

शीर्ष नेता र प्रधानमन्त्रीकै कारण सरकार ढल्छ भन्ने हल्लाले मलजल पाएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को समापन समारोहमा कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिले सरकार फेरबदल हुनसक्ने आशङ्का गर्नेहरूलाई थप बल पुगेको हो । 

समापन समारोहमा प्रधानमन्त्री ओली अनुपस्थित हुँदा सहयात्री देउवासँगै प्रचण्ड भने उपस्थित थिए । यसले पनि अहिलेको सत्ता गठबन्धनमा फेरबदल हुनसक्ने आशङ्का फैलिएको हो । 

सत्तारूढभित्रै छ असन्तुष्टि   

सरकारको कार्यशैलीप्रति सत्तारूढ दलभित्रै असन्तुष्टिसमेत चुलिन थालेको छ । कुनै समय कांग्रेस–एमाले मिलेर सरकार बन्नुपर्छ भन्ने वकालत गर्दै हिँड्ने तथा माहौल बनाउने कांग्रेस नेता डा. शेखर कोइराला सार्वजनिक स्थलमै अहिलेको सरकारले काम गर्न नसकेको बताउँदै आएका छन् । 

त्यस्तै कांग्रेस महामन्त्री थापाले पनि सरकार बनिसकेपछि जुन आशा अनुरूप ‘डेलिभरी’ हुनुपर्ने हो त्यो नभएको गुनासो सार्वजनिकरूपमै  गर्दै आएको देखिन्छ । यसले पनि सत्तारुढ दलका नेता नै ओली सरकार र उनको कार्यशैलीबाट सन्तुष्ट छैनन् । 

भयभीत ओली !

सत्तारुढ दलभित्रै सरकारले सोचेअनुरूप काम गर्न नसकेको आवाज उठ्छ । यससँगै प्रधानमन्त्री ओली पनि विभिन्न कार्यक्रममा ‘अहिलेको सरकारले स्थिरता पाउँछ’ भन्दै बारम्बार स्पष्टीकरण दिन्छन् । 

तर, त्यसलाई अन्य राजनीतिक दलसँगै कतिपयले भने सत्तारुढ दलभित्र मतभेदको वातावरण सिर्जना भइसक्यो भनेर अड्कल काटिरहेका छन् । कांग्रेस र एमालेका नेताहरू भने सरकारका विषयमा आशङ्का र प्रश्न उठेपछि प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बाध्यता रहेको बताउँछन् । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा प्रधानमन्त्रीले आशंकाको निवारणका लागि बोलेको बताए । ‘प्रमुख प्रतिपक्षी दलका नेता, अराजक समूहले बारम्बार सरकार ढल्छ भनिरहेको अवस्था छ,’ प्रचार विभागका प्रमुख विश्वकर्मा भन्छन्, ‘अर्कोतर्फ कांग्रेसका केही नेताहरूले पनि अव्यवहारिक अभिव्यक्ति दिइराखेका बेला आशङ्का उत्पन्न नहोस् भन्नका लागि र आंशका निवारण होस् भन्ने ध्येयबाट भनिरहनुभएको हो ।’

प्रधानमन्त्रीको कार्यशैली अपेक्षाअनुरूप नभएको गुनासो पनि धेरैको छ । यसलाई समर्थन गर्दै राजनीतिक विश्लेषक हरि रोका पनि प्रधानमन्त्री ओली सरकार ढल्छ कि भन्ने भयबाट ग्रसित रहेको बताउँछन् । उनी भन्छन्, ‘कांग्रेसले काँध फेर्छ कि भन्ने आशङ्का होला उहाँमा । त्यसैले बारम्बार यो मितिमा छोड्छु भनेर भनिरहनुभएको होला ।’

नेपाली कांग्रेसभित्रै पनि ओली सरकारको ‘परफर्मेन्स’लाई लिएर आलोचना भइरहेको रोकाको तर्क छ । डा. शेखर कोइरालालगायतका नेता ओली सरकारको परफर्मेन्सबारे खुलेर नै बोलिरहेका उनले बताए । सोही कारण पनि कांग्रेसले काँध फेर्न सक्छ भन्ने डर प्रधानमन्त्रीमा देखिएको बताउँदै उनले ओली आफ्नो सरकार ढल्छ कि भन्ने भयबाट ग्रसित रहेको बताए । 

भारतले गरेको असन्तुष्टिको सङ्केत 

गत भदौमा स्वास्थ्योपचारका लागि नयाँ दिल्ली जान लागेकी परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतले स्वयम् रुचि देखाएर औपचारिक भ्रमणमा बोलायो । भारतले समेत रुचि देखाएर औपचारिक निमन्त्रणा गरेपछि उनी गत भदौ २ गते ५ दिने भ्रमणका लागि दिल्ली गइन् । त्यो बेला उनको दिल्लीमा भव्य स्वागतसहित आदर–सत्कार भयो । 

तर, उनै परराष्ट्र मन्त्री देउवा पछिल्लो पटक ४ पुसमा दिल्ली पुग्दा उनीप्रति भारतले फरक व्यवहार गर्‍यो । काठमाडौं विश्वविद्यालय र भारतीय गैरसरकारी संस्था एग्रो फाउन्डेसनको कार्यक्रममा सहभागी हुन गएकी आरजुले कुनै पनि सरकारी उच्च अधिकारीसँग भेट गर्न पाइनन् । 

प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर एउटा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा भारत जाने इच्छा व्यक्त गरेपछि मात्रै परराष्ट्र मन्त्री राणाको दिल्ली यात्राबारे अनौपचारिक च्यानलबाट सूचना सार्वजनिक गरिएको थियो ।  प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि वातावरण बनाउन उनी दिल्ली पुगेको धेरैले अनुमान पनि गरेका थिए । तर, देउवाप्रति भारतको व्यवहारले अहिलेको सरकारप्रति भारतले असन्तुष्टिको सङ्केत गरेको राजनीतिक विश्लेषक तर्क गर्छन् । 

नेपालमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारत हुने गरेको थियो । जसका लागि भारतबाटै औपचारिक निम्तो आउने प्रचलन थियो । तर, यस पटक प्रधानमन्त्री बनेका ओली भारतभन्दा अगाडि चीन गएर आइसकेका छन् । प्रधानमन्त्री ओलीलाई भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन । 

झिना मसिना कार्यक्रममै सहभागी भएर परराष्ट्र मन्त्री देउवाको ५ दिन दिल्लीमा बितेपछि धेरैले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत अझै पनि इच्छुक नरहेको टिप्पणी धेरैले गरिरहेका छन् ।  

  • प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया