इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैंले यसको पालना गरिरहेका छन् ।
'कसैले बाहिर गएर खायो भने उनीहरू नै जानून् तर गाउँमा भने चल्दैन', स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाए । उनका अनुसार यहाँका होटल तथा रेष्टुरेण्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका–३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदासमेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ ।
करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरूले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ । गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज केहेरसिंह योङहाङले बताए । गाउँमा खान नहुने र बाहिर गएरसमेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उनको जिकिर छ ।
किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर) ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । किरात धर्म मान्नेहरूले घरैपिच्छे तीनवटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजासमेत राखिएको छ । माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरूको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो ।
धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछामासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए ।
गाउँमा जथाभाबी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) बताउँछन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।