नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा सर्वाधिक आशा गरिएका खेलाडीमध्ये केही मात्र सफल देखिए । लामो समयदेखि राष्ट्रिय टिममा निरन्तर स्थान बनाइरहेकाहरू दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, करण केसी, कुशल मल्ल, रिजन ढकालले मात्र राम्रो प्रदर्शन गर्न सके ।
टिमका अरू प्रमुख खेलाडी सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलशनकुमार झा, सोमपाल कामी, आसिफ शेखलगायतले भने आफ्नो व्यक्तिगत प्रदर्शनबाट समर्थकको मन जित्न सकेनन् । लामो समययता राष्ट्रिय टिम बाहिर रहेका केही खेलाडीले भने राम्रो लय देखाए ।
एनपिएलमा गरेको प्रदर्शनका कारण उनीहरूले राष्ट्रिय टिममा पुनरागमन गर्ने सम्भावना बढेको छ । यसैबीच यस सामग्रीमा राष्ट्रिय टोलीमा कमब्याक गर्न सक्ने पाँच खेलाडीको चर्चा गरिएको छ ।
किशोर महतो
एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन तीव्र गतिका बलर किशोर महतोको भूमिका पनि प्रमुख रह्यो । उनले लिगमा १० खेलमा ८.०३ को इकोनमीमा १४ विकेट लिए । किशोर सर्वाधिक विकेटकर्ताको सूचीमा चौथो स्थानमा रहे । उनी १० मध्ये २ खेलमा मात्र विकेटविहीन बने ।
किशोरले सुदूरपश्चिमविरुद्धको फाइनलजस्तो महत्वपूर्ण खेलमा सानदार प्रदर्शन गरे । उक्त खेलमा उनले ४ ओभरमा २५ रन दिएर तीन विकेट लिए । किशोरले ती तीनवटै विकेट अन्तिम ओभरमा लिएका हुन् ।
समग्रमा उनी एनपिएलमा पावर प्ले र डेथ ओभरमा सफल देखिए । नेपाललाई अहिले यही जिम्मेवारी लिने बलरको खाँचो पनि छ । नेपाल लामो समयदेखि डेथ ओभर बलिङमा चुकिरहेको छ ।
अब त्यो भूमिका किशोरले पाउन सक्छन् । उनले हालसम्म दुईवटा ओडिआई मात्र खेल्न पाएका छन् । किशोर १९ जुलाई २०२३ यता राष्ट्रिय टोली बाहिर छन् । टिममा मौका नपाएपछि उनले पछिल्लो समय अस्ट्रेलियाको घरेलु क्रिकेट खेलिरहेका थिए ।
नन्दन यादव
डेथ ओभर बलिङका लागि अर्का तीव्र गतिका बलर नन्दन यादव पनि राष्ट्रिय टिममा फर्किन सक्छन् । विगतमा बन्द प्रशिक्षणमा अवसर पाए पनि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्न भने पाएनन् ।
राष्ट्रिय टोलीमा पर्ने संकेत नदेखिएपछि नन्दन पनि अस्ट्रेलिया लागेका थिए । तर, एनपिएलको पहिलो सिजनमा राम्रो प्रदर्शन गरेकाले उनका लागि फेरि राष्ट्रिय टिमको ढोका खुल्न सक्छ ।
कर्णाली याक्सबाट प्रतियोगिता खेलेका नन्दनले ८ खेलमा ७.५३ को इकोनमीमा ९ विकेट लिए ।
विनोद भण्डारी
राष्ट्रिय टिममा फर्किन सक्ने अर्का खेलाडी हुन्, विकेटकिपर विनोद भण्डारी । सुदूरपश्चिम रोयल्सले एनपिएलको फाइनलसम्मको यात्रा गर्नुमा विनोदको पनि महत्वपूर्ण भूमिका रह्यो ।
उनले ९ खेलमा २ सय ३५ रन बनाए । विनोद पछिल्लो ९ महिनायता टिम बाहिर छन् । तर, एनपिएलमा राम्रो प्रदर्शन गरेकाले उनले राष्ट्रिय टिममा कमब्याक गर्न सक्छन् । हालसम्म विनोदले ४० टी–२० र १७ ओडिआई खेलेका छन् ।
बसिर अहमद
राष्ट्रिय टिममा कमब्याक गर्नसक्ने खेलाडीको सूचीमा बसिर अहमद पनि छन् । उनले एनपिएलमा विराटनगर किंग्सका लागि उत्कृष्ट प्रदर्शन गरे । बसिरले ७ खेलमा एक अर्धशतकको मद्दतमा १ सय ८१ रन बनाए ।
उनी विराटनगरका लागि सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा रहे । यस्तै, बसिरले बलिङमा ६ इनिङ्समा ६ विकेट लिए । उनले हालसम्म तीन ओडिआई र दुई टी–२० आई खेलेका छन् । बसिर सन् २०२२ यता भने राष्ट्रिय टिम बाहिर छन् । एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेकाले उनले नेपालको एकदिवसीय टिममा पुनरागमन गर्न सक्छन् ।
प्रतिश जिसी
राष्ट्रिय टिममा फर्किन सक्ने अर्का खेलाडी हुन्, बायाँहाते तीव्र गतिका बलर प्रतिश जिसी । उनले एनपिएलमा राम्रो प्रभाव पारे । प्रतिशले विराटनगरका लागि ६ खेलमा ६.६८ को सानदार इकोनमीमा ९ विकेट लिए ।
उनले लिगमा शिखर धवन, अनिलकुमार साह, आन्द्रेस गौसलगायत स्टार ब्याटरलाई पवेलियन फर्काए । प्रतिशले हालसम्म १० टी–२० आई र तीन ओडिआई खेलेका छन् ।
उनी गत १७ अप्रिलदेखि भने राष्ट्रिय टोली बाहिर छन् । एनपिएलमा उच्च प्रदर्शन गरेकाले प्रतिशले अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्ने सम्भावना छ ।
कहिले छ नेपालको खेल ?
नेपाल क्रिकेट संघ (क्यान) अनुसार तत्काल नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तालिका छैन । विश्वकप लिग–२ मा नेपालले अर्को सिरिज २०२४ को मे महिनामा खेल्नेछ । स्कटल्याण्डमा हुने सो सिरिजमा नेपालले घरेलु टिम र नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । जारी संस्करणको लिग–२ मा नेपालले १२ म्याच खेल्दा आठमा हार तथा दुईमा जित र दुई खेलमा अंक बाँडेको छ ।
अन्तर्राष्ट्रिय सिरिजको सार्वजनिक नहुँदासम्म खेलाडी केही महिना अब घरेलु मैदानमा व्यस्त हुने छन् । जसअन्तर्गत पुसको अन्तिम सातादेखि पर्सा र धनुषामा एलाइट कप दुईदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।
प्रतियोगितामा गत वर्ष भएको प्रधानमन्त्री कपको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती र मधेस प्रदेशले भाग लिने छन् ।
यो पनि
यी चार युवा क्रिकेटर, जसले एनपिएलमा प्रभावित पारे [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।