बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिकरूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौंको सडक डिभिजन कार्यालयले ७ पुसदेखि ६ माघसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो । तर, स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यसबाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो । वैकल्पिक मार्गको प्रयोग गर्न भनेको भए पनि यात्रु र चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समस्या भएपछि स्थानीयले विरोध गरेका थिए ।
थाहा नगरपालिका–९ का कार्यवाहक वडाअध्यक्ष रामकृष्ण कपालीले स्थानीयको गुनासो समाधान गर्न सडक डिभिजन कार्यालयसँग सहकार्य गरी बिहान र बेलुका सडक सञ्चालन गराउने सहमति जुटाएको जानकारी दिए ।
उनका अनुसार अब बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने र त्यसबाहेक अन्य समयमा सवारीसाधन सञ्चालनमा कुनै अवरोध हुने छैन । उक्त निर्णयले यात्रु र स्थानीय कृषकलाई राहत मिलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।