logo-img

दलित प्राविको कन्तबिजोक : पढ्न विद्यार्थीले बोरा लिएर आउँछन्, शौच गर्न उखुबारी जान्छन्

अहिलेको समयमा पनि विद्यालयमा अध्ययन गर्नका लागि बोरा बोकेर जानुपर्छ भन्दा तपाई हामीलाई अनौठो लाग्न सक्छ । डेक्सबेन्चमा बसरे प्रविधिको प्रयोग गरेर अध्ययन गर्ने बेला ओछ्याउनका लागि आफैंले घरबाट बोरा बोकेर जानुपर्छ भन्दा अनौठो लाग्नु पनि स्वाभाविक नै हो । तर रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका-१ मा रहेको दलित प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विगत १७ वर्षदेखि यही नियति भोगिरहेका छन् ।

विद्यालयमा भौतिक पूर्वाधार नभएका कारण याे विद्यालयका विद्यार्थीहरूले बस्नको लागि घरबाटै बोरा लिएर जाने गरेका छन् । जसले बोरा लैजान बिर्सिन्छ उ चिसो भुइँमा बस्नुपर्ने बाध्यता विद्यालयमा छ ।

स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको थियाे । विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् ।

भवनको नाममा दुई वटा स-साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले भुइँमा बसेर अध्ययन गरिरहेको बताइन् । विद्यालयका समस्या प्रति स्थानीय सरकार भने उदासीन छ । स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय जस्ता अत्यावश्यक पूर्वाधार केही पनि छैनन् । विद्यालयमा फर्निचर अभाव भएका कारण पढ्न समस्या भएको विद्यार्थीहरू बताउँछन् ।



बाल विकास कक्षामा अध्ययन गर्ने बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हिरालालप्रसाद यादवले बताए । हाल विद्यालयमा चार जना बाल विकास शिक्षिका, दुई संघीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् ।

विद्यालय स्थापना भएको १७ वर्ष पुग्दा पनि हालसम्म एकजना पनि स्थायी दरबन्दीका शिक्षक छैनन् । विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ ।



सोही विद्यालय स्थानान्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँच कोठे भवन बनाएका थिए । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन बनेपनि विद्यालयको नाममा नहुँदा समस्या भएकाे प्रधानाध्यापक यादवले बताए ।

वि.सं २०७९ मा निर्वाचित नगर प्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे । सामान्य वर्षा र गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले सुनाए । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका हुन् तर उनले पनि यो विषयमा चासो देखाएका छैनन् ।



साउनदेखि खाजा खुवाउन सकेको छैन

पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयमा १७५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शौचालय नभएका कारण विद्यार्थीहरू दिसापिसाव गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।

सात वर्षदेखि तलब विहीन

विद्यालयमा कार्यरत एक शिक्षकले सात वर्षदेखि तलब पाएका छैनन् । वि.सं २०७५ असोज ६ गते आफू राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताए ।

सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए । फतुवा विजयपुर नगरपालिका-१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिए । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • प्रकाशित मिति : पुस १०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया