logo-img

‘नेपालमा क्रिसमसको अर्थ नै नबुझी मनाउने गरेको पाइन्छ’

‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबैभन्दा पहिले ईसापूर्व ३३६ अर्थात् चौथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिकरूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवसका अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् ।

बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन । तर, पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाले यही विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेको क्रिष्टियन धर्मबारेका अध्येता डा. बालकृष्ण शर्मा बताउँछन् । उनले क्रिसमस भन्ने शब्दले ख्रिस्ट भन्ने शब्दलाई बुझाउने गरेको बताए । 

‘क्रिसमस भन्ने जो शब्द हामी प्रयोग गर्छौँ, यसले चाहिँ ख्रिस्ट भन्ने शब्दलाई सम्बोधन गर्छ । ख्रिस्ट शब्द बाइबलमा उल्लेख छ । बाइबल हाम्रा निम्ति संसारमा मानव बनेर आउनुभयो । हाम्रो उद्धारकर्ताको रूपमा आउनुभयो र उहाँलाई येशुख्रिस्ट भनेर पनि सम्बोधन गर्छौँ । क्रिसमसख्रिस्टसँग सम्बन्धित छ । बाइबलमा पनि येसुख्रिस्टको बारेमा धेरै कुरा बताइएको छ । बाइबलमा येसु ख्रिस्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन । तर, पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन,’ उनले भने ।

यसैगरी उनले येसु ख्रिस्ट संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नको लागि आउनुभएको बताए । उनले आज भन्दा इ.सं २०२४ वर्ष अगाडि येसु ख्रिस्टकै नामबाट इ.सं स्थापित भएको समेत बताए ।  



‘संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नको लागि येसु ख्रिस्ट आउनुभयो । आज भन्दा २०२४ वर्ष अगाडि । जसलाई हामी इ.सं भन्छौँ । येसु ख्रिस्टकै नामबाट स्थापित सम्बत हो । तर, हामीले बाइबललाई हेरौं भने पनि दुई भागमा विभाजन भएको छ । एउटा पुरानो  करार भन्छौँ जुन येसु आउनुभन्दा अगाडि र  अर्को नयाँ करार येसु आउनु भएपछिको हो,’ उनी भन्छन्  ‘येसु ख्रिस्ट अन्नतदेखि हुनुहुन्छ भन्ने बाइबलको मान्यता छ ।’   

यसैगरी क्रिसमसको मुख्य उद्देश्य भनेको नै मानव जातिलाई उद्धारका रुपमा घोषणा गरिएको दिनका रुपमा बुझ्नुपर्छ । शर्माका अनुसार सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमाजो व्यक्तिहरूसँग परमेश्वर प्रसन्न हुनुहुन्छ तीनिहरूलाई शान्ति दिन येसु आउनु भएको बताए । 



उनले  ‘क्रिसमस डे’ लाई ऐतिहासिक रूपमा हेर्दा डिसेम्बर २५ तारिखका दिन उत्सव गरेर मनाइने गरिएको बताए । शर्माले अगाडिकै दिनबाट, हप्ताबाट पनि क्रिसमसको गीतहरु गाएर संसारभरी नै मनाइने चलन रहेको बताए । 

‘क्रिसमसको गीत भन्नाले येसु संसारमा आउनुभएको बारेमा मानिसलाई बताउनका लागि, घोषणा गर्नका लागि र नेपालमा सन्दर्भमा हेर्नुभयो भने पनि विभिन्न चर्चहरूमा क्रिसमसका गीतहरू गाउने चलन छ जसलाई हामी क्यारल भनेर पनि भन्छौँ,’ शर्माले भने ।  



उनले क्रिसमसका अवसरमा कुनै विशेष परिकार वा विशेष खाना यो भनेर नतोकिएको बताए । शर्माले हरेक क्रिष्टियनलेक्रिसमसरमाइलो गरेर या खुसी साटेर मनाएपनि येसुख्रिस्ट संसारमा आउनुको महत्वलाई मानिसको पाप क्षमा गर्नको लागि आएको कुरा भुल्न नहुने बताए ।

उनले भने, ‘क्रिसमसका जो अभिव्यक्ति छन्, खुसियालीका कुराहरू छन् । हरेक व्यक्तिले चाहिँ यो पनि बुझ्नुपर्दछ की येसु ख्रिस्ट संसारमा मानिसको पाप क्षमा गर्नको लागि आउनु भएको कुरा भुल्नु हुँदैन । येसु ख्रिस्ट पापको निम्ति पुसमा मर्नु भएको र तेस्रो दिनमा बौरिएर उठ्नु भएको कुरा पनि जोडिन्छ ।’

शर्माले क्रिसमस बुझेर मनाउने क्रिष्टियनर नबुझेर मनाउने क्रिष्टियनहरूसमेत भएको बताए । उनले क्रिसमसको अर्थ नामधारी क्रिष्टियनले नबुझेर समेत मनाउने गरेको बताए । शर्माले क्रिसमसले जहिले पनि येसुख्रिस्टले दिनुपर्ने मुक्तिलाई सम्बोधन गर्दै आएको बताए । 

‘अब क्रिसमस संसारमा कसैले बुझेर त कसैले नबुझेर समेत मनाउने गरेको पाइन्छ । तर यसमा पनि क्रिसमस बुझेर मनाउने क्रिष्टियनर नबुझेर मनाउने क्रिष्टियनहरू पनि छन् । यसमा पनि नामधारी क्रिष्टियनहरूले बुझ्छन् कि बुझ्दैनन् होला । क्रिसमस मनाउनु भनेको येसु ख्रिस्ट मुक्तिदाताका रुपमा आउनु भएको छ भन्ने बुझ्नु हो । अब चाडपर्वका रुपमा विभिन्न व्यक्तिहरूले यसलाई मनाउँछन् । यो मनाउने कुरा आफैंमा गल्ती होइन, किनभने यो उत्सवको समय पनि हो,’ शर्माले भने ।

क्रिसमस हरेकले मनाउन मिल्छ तर मनाउनका लागि विचार गरेर र क्रिसमसको अर्थ बुझेर र येसुको उद्देश्य के हो त्यो थाहा पाएर मात्र मनाउन उनको अनुरोध छ । शर्माले चर्चमा मनाइने क्रिसमस र विभिन्न ठाउँमा मनाइने क्रिसमसमा निकै भिन्नता रहेको बताए ।

उनले चर्चभित्र सामूहिकरूपमा अरू व्यक्ति पनि आएर उत्सव मनाउने तथा आराधना गरेर मनाइने गरिएको बताए ।  डिसेम्बर महिना सुरु हुँदै इसाई अनुयायीहरू क्रिसमसका लागि तयारीमा जुट्ने तथा यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली (चर्च) मा गएर प्रभु येसुको यादमा प्रार्थना गर्ने अनि मैनबत्ती बाल्ने गरेको बताए । 

घर र चर्चमा क्रिसमस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । यसका साथै क्रिसमसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् । यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्गबाट आउने र मानिसहरूलाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको उनको भनाइ छ ।

यसैगरी शर्माले बाहिर मनाइने क्रिसमसमा धेरै जनाले एउटा चाडको रुपमा मनाउने तर त्यसको अर्थ चाहिँ बुझेको नभेटेको बताए । जसमा यस दिन अन्य धर्मका मानिसहरू पनि मैनबत्ती जलाएर प्रार्थना गर्ने,ताराहरूसँग जोडेर उत्सव मनाउने गरिएको उनको भनाइ छ । 

उनले पछिल्लो समय फेसनको रुपमा क्रिसमस मनाइने गरिएको बताए । उनले फेसनको रुपमा नभइ यसको गहिराइमा गएर बुझेर मात्र मनाउनुपर्ने अवस्था रहेको बताए । यस पर्वमा क्रिसमस ट्रीको समेत विशेष महत्व रहेको उनले बताए । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यसबेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।  

  • प्रकाशित मिति : पुस १०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया