logo-img

एनपिएललगत्तै विदेशी लिगमा, गर्ने छन् एकअर्काको सामना [भिडियोसहित]

राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्लले हालै सम्पन्न पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गरे । लिगमा उनले चितवन राइनोजको कप्तानीसमेत सम्हाले । 

कुशलले पहिलोपटक महत्वपूर्ण प्रतियोगितामा कप्तानको जिम्मेवारी पाएका थिए । र, उनी त्यसमा केही हदसम्म सफल पनि भए । कुशलको नेतृत्वमा चितवनले प्लेअफसम्मको यात्रा गर्‍यो ।  

फाइनलसम्म पुग्न नसके पनि लिग चरणमा चितवनले उपाधिका लागि भिडेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सविरुद्ध सहज जित निकालेको थियो । कुशलले कप्तानी मात्र होइन व्यक्तिगत प्रदर्शनबाट पनि समर्थकलाई प्रभावित पारे ।



उनले ८ खेलमा एक अर्धशतकको मद्दतमा २ सय २३ रन बनाउनुका साथै बलिङमा ९ विकेट लिए । 

एनपिएलपछि विदेशी लिगमा 



एनपिएलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका कुशल विदेशी लिगको रोजाइमा पनि पर्न थालेका छन् । र, एनपिएल सकिएको केही दिनमा नै उनी यूएईको इन्टरनेशनल लिग अर्थात् आइएल टी–२० मा अनुबन्धित भएका छन् । 



कुशल इन्टरनेशनल लिगका लागि डेजर्ट भाइपर्समा अनुबन्धित भएका हुन् ।  जहाँ पाकिस्तानका फखर जमान, आजम खान, मोहम्मद आमिर, श्रीलंकाका वानिन्दु हसरंगा, न्यूजिल्याण्डका लकी फर्गुसन, वेस्ट इण्डिजका शेरफन रदरफोर्डलगायत स्टार छन् । 

यूएईमा खेलिसकेका छन् लिग  

कुशलका लागि यो दोस्रो विदेशी लिग हुनेछ । यसअघि उनले यूएईकै टी–१० लिग पनि खेलेका थिए । 

कुशलले सन् २०२१ मा टिम आबुधाबीबाट सो लिग खेलेका थिए । उक्त सिजनमा उनले एउटा खेल खेले । उनले डेब्यू खेलमा १२ बलमा एक चौका र एक छक्काको मद्दतमा १८ रन बनाए । 

कुशललाई अब तीन वर्षपछि यूएईको अर्को लिगमा डेब्यू गर्ने मौका छ । उनीसँगै नेपालबाट पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले पनि टी–१० खेलिसकेका छन् ।    

दीपेन्द्र डेब्यूको प्रतीक्षामा 

कीर्तिमानी नेपाली स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पनि आसन्न इन्टरनेशनल लिग टी–२० खेल्ने छन् । उनलाई यसअघि नै गल्फ जायन्ट्सले रिटेन गरिसकेको छ । दीपेन्द्र दोस्रोपटक इन्टरनेशनल लिग खेल्न लागेका हुन् । 

उनी गत सिजनमा अन्तिमतिरको खेलका लागि सो लिगमा जोडिएका थिए । तर, दीपेन्द्रले डेब्यूको मौका भने पाएनन् । यसपालि भने इन्टरनेशनल लिगमा उनी डेब्यू गर्न सक्छन् ।  

केही दिनअघि सम्पन्न एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेकाले पनि दीपेन्द्रले आइएल टी–२० मा डेब्यूको मौका पाउने सम्भावना रहेको हो । उनीआबद्ध गल्फमा जेम्स विन्स, क्रिस जोर्डन, शिमरोन हेटमायर, टम करनलगायत नाम चलेका खेलाडी छन् ।  

लयमा छन् ऐरी

एनपिएलमा सुदूरपश्चिम रोयल्सको कप्तानी गेका ऐरीले ९ खेलमा २ सय २७ रन बनाए । बलिङमा उनले सात ७ इनिङ्समा ९ विकेट लिए । टिम फाइनलमा जनकपुरसँग पराजित भए पनि ऐरीको कप्तानीमा सुदूरपश्चिमले लिगमा उत्कृष्ट प्रदर्शन गर्‍यो । उसले ९ म्याचमध्ये सातमा जित र दुई खेलमा मात्र पराजय बेहोर्‍यो । 

दीपेन्द्र अब केही समयको अन्तरालमै अर्को व्यावसायिक लिग खेल्न लागेका हुन् । उनी र कुशलसम्मिलित इन्टरनेशनल लिगको तेस्रो संस्करण आउँदो ११ जनवरीदेखि सुरु हुनेछ ।  

लिगमा उनीहरूआबद्ध टिम १४ जनवरीमा एकअर्काको सामना गर्ने छन् । केही दिनअघि एनपिएलमा भिडेका दीपेन्द्र र कुशलबीचको प्रतिस्पर्धा अब इन्टरनेशनल लिग टी–२० मा पनि देख्न पाइनेछ । 

  • प्रकाशित मिति : पुस १०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया