बुधबार बसेको नेकपा एमाले सचिवालय बैठकले नेकपा एमालेका नेता डा. भीम रावललाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको छ ।
रावललाई पार्टीले निस्कासन गरेसँगै अब उनी कुन पार्टीमा जालान्, माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादीमा जान्छन् कि आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्छन् वा अन्य कुनै पार्टीमा जान्छन् भन्ने प्रश्न उठिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट रुष्ट बनेकाहरूको समूह एकीकृत समाजवादीमा रहेकाले उनी पनि त्यतै सामेल हुन्छन् कि भन्ने शंका गर्ने ठाउँ पनि छ ।
यसअघि देखि नै अध्यक्ष ओली र नेता रावलबीच मनमुटाव चलिरहेको थियो । बारम्बार कारबाही गर्न पार्टी अध्यक्ष ओलीलाई चुनौती दिइरहने नेता रावलको चेतावनीलाई अहिले भने ओलीले स्वीकार गरेका छन् । ओलीले यसअघि पनि पटक-पटक नेता रावललाई कारबाही गर्दै आइरहेका थिए । तर यो पटक भने ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालि दिएका छन् ।
पार्टीको यो निर्णयलाई रावलले ओलीको एकल निर्णय भएको जनाएका छन् । नेता रावलले विभिन्न सञ्चार माध्यमहरूसँग कुरा गर्दै आफूमाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको प्रतिक्रिया दिएका छन् । ओलीले लामो समयदेखि कम्युनिष्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएको र आफूलाई निस्कासित गर्ने निर्णय हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि ओलीकै एकल निर्णय भएको उनकाे बुझाई छ।
उनले यो निर्णयलाई अध्ययन गरेर थप निर्णय लिने जनाएका छन् । तर आफू अहिले नै अन्य कुनै पार्टीमा जाने योजनामा भने नरहेको उनले बताएका छन् । एमालेले कारबाही गरेसँगै नेता रावल नेकपा एकीकृत समाजवादी पार्टीमा जाने हल्ला पनि चल्न थालेकाे छ । नेता रावलले पनि घनश्याम भुसालकै बाटो समात्ने आंकलन राजनीतिक वृत्तमा चलिरहेको छ । तर उनले उक्त कुराई इन्कार गर्दै आएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाएपछि नेता घनश्याम भुसालले पार्टी परित्याग गरी एकीकृत समावादी पार्टीमा प्रवेश गरेका थिए । त्यसबेला ओलीले भीम रावललाई पनि प्रतिनिधिसभाको उम्मेदवार टिकट दिएका थिएनन् । त्यति गर्दा पनि पार्टी नछाडेका भीम रावल अब भने माधव नेपालकै खेमामा जाने आंकलन अधिकांश राजनीतिज्ञले गरिरहेका छन् । एमालेबाटै अलग भएर माधव नेपालले एकीकृत समाजवादी पार्टी खाेलेका हुन् ।
नेता रावलले यसअघि बारम्बार आफूमाथि कारबाही गरेर देखाउन ओलीलाई चुनौती दिँदै आएका थिए । गत भदौमा अछाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका थिए ।
उनले त्यसबेला आफू एकीकृत समाजवादीमा जाँदैछ भनेर एमालेले कारबाही गर्न खोजिएको जनाएका थिए । उनको यो अभिव्यक्तिले पनि उनी समाजवादी पार्टीमा जाने हल्ला एमालेमा यसअघिदेखि नै चलिरहेकाे पुष्टि हुन्छ ।
पार्टीको कारबाहीलाई थाती राख्दै नेता रावलले आफ्नो राजनीतिक जीवनलाई कसरीअघि बढाउँछन् त्यो भने आगामी दिनहरूले नै देखाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।