गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन् । बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हाम्रो भूगोल नै उच्च विपद् जोखिममा रहेको बताएका हुन् ।
उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौं । हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितिमा छ । कतिपय प्राकृतिक जोखिमहरू छन् । कतिपय मान्छेले बनाएका जोखिमहरू छन् । धेरै जोखिमको अवस्थामा हामी रहेका छौं ।’
साथै उनले विपद् जोखिम न्यूनीकरण हामी सबैले मिले मात्र सम्भव हुने बताए । उनले सबै मिलेर अगाडि बढे पूर्वानुमान, सूचना र तत्काल उद्धार गर्ने विषयमा सफल हुन सकिने बताए ।
नेपालको भौगोलिकताका आ-आफ्नै विशेषता छन् । ठाउँ अनुसार फरक हावापानीका कारण विपद् जन्य घटनाको प्रकृति पनि फरक-फरक देखिने गरेका छन् । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना वर्षेनी भइरहन्छन् । बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट नेपाल उच्च जोखिममा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
भुकम्प तथा मिश्रित विपत्तिको जोखिमका सन्दर्भमा नेपाल क्रमशः ११ औं र १६ औं स्थानमा रहेको छ । भारतीय र युरोपियन जमिन एक-आपसमा जोडिएको भु-भागमाथि नेपाल अवस्थित छ जसका कारण नेपालमा ठूला भूकम्पहरू बारम्बार गइरहन्छन्। नेपाल जलवायु परिवर्तनका असरहरूबाट पनि जोखिममा रहेको छ ।
मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढी पहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ । नेपालका कतिपय जिल्ला बाढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन् । भूकम्पका कारण पनि बारम्बार नेपाली जनजीवन प्रभावित भइरहेको हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।