प्रधानसेनापति अशोकराज सिग्देलले अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ असल देशभक्त युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दलको भूमिका महत्वपूर्ण रहेको जनाएका छन् ।
बिहीबार एन सी.सी अल्मुनाई एशोसिएशन नेपालले आयोजना गरेको सातौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रिय सेवा दलको यो कार्यक्रमलाई राष्ट्र सेवामा समर्पित अनुशासित र बफादार युवा जनशक्ति तयार गर्ने अभियानका रूपमा स्थानीय तहसम्म पुर्याउन नेपाली सेनाले पहल गरिरहेको बताएका हुन् ।
एन सी.सीबाट राष्ट्र सेवामा भएका विभिन्न गतिविधिले नेपाली जनताको आशा र भरोसा वृद्धि भएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रप्रति समर्पित नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिका उल्लेखनीय रहेको बताए । उनले एन सी.सीमा आबद्ध सम्पूर्णलाई वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्तसमेत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अल्मुनाई एशोसिएनका प्रमुख सल्लाहकार निगम हुमागाइँले नेपाली सेनाको छत्रछायाँमा सेनाकै विभिन्न युनिटहरूबाट राष्ट्रसेवाको पथमा प्रशिक्षित हुन पाउनु समस्त राष्ट्रिय सेवा दलका क्यान्डेटहरूको गौरवको विषय जनाएका छन् ।
हाल देशका ७५ जिल्लाहरूबाट राष्ट्रिय सेवा दलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन भई रहेको छ । हालसम्म ७८ हजारभन्दा बढी छात्र/छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेको राष्ट्रिय सेवा दलले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।