नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई र क्यानबीचको सम्झौता सकिन एक महिना मात्र बाँकी छ । दुई वर्षअघि अर्थात् २०७९ मा भएको उनी र क्यानबीचको सम्झौता माघमा सकिन लागेको हो ।
सम्झौता सकिने मिति नजिकिएसँगै समर्थक र खेलाडीमा मोन्टी आगामी दिनमा पनि नेपाली टिमसँगै रहन्छन् वा बिदा हुन्छन् भनेर कौतुहलता सुरु भएको छ । नेपाली टोलीसँग मोन्टीको यात्रा जारी राख्ने/नराख्ने निर्णय गर्ने अधिकार क्यानको हातमा छ । र, क्यान यस विषयमा छलफलमा व्यस्त छ ।
प्रारम्भिक छलफलअनुसार मुख्य प्रशिक्षक देसाईसँगको सम्झौता अगाडि बढाउन क्यान पदाधिकारी इच्छुक छैनन् । क्यान स्रोतका अनुसार सचिव पारस खड्काले प्रशिक्षक देसाईलाई सम्झौता नवीकरण नहुने जानकारी पनि दिइसकेका छन् ।
यद्यपि क्यानको बोर्ड बैठकले यसबारे अन्तिम निर्णय गर्न बाँकी छ ।
खराब प्रदर्शनको नतिजा !
पछिल्लो समय मोन्टीको प्रशिक्षणमा नेपालले अपेक्षाकृत नतिजा ल्याउन नसकेकाले पनि क्यान उनीसँगको सम्झौता नवीकरण नगर्ने मुडमा पुगेको हो । विशेषगरी आइसिसी विश्वकप लिग–२ को जारी संस्करणमा देसाईको प्रशिक्षणमा नेपालले खराब प्रदर्शन गरिरहेको छ ।
नेपालले अहिलेसम्म १२ म्याच खेल्दा आठमा हार तथा दुई खेलमा मात्र जित निकालेको छ । नेपालले दुई खेलमा वर्षा बाधक बन्दा अंक पायो ।
नेपालले अब लिग–२ मा २४ वटा म्याच खेल्न बाँकी छ । एकदिवसीय मान्यता जोगाउन र शीर्ष चारमा रहेर सोझै विश्वकप छनोटमा पुग्न नेपालले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
मोन्टीको प्रशिक्षणमा के–के उपलब्धि ?
मोन्टीले मुख्य प्रशिक्षकको जिम्मेजारी सम्हाल्दा नेपाली टिमको हालत अहिलेको भन्दा खराब थियो । र, धेरैले नेपालको एकदिवसीय मान्यता गुम्ने खतरा देखेका थिए । तर, मोन्टीले प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेबित्तिकै टिमले चमत्कार नै गर्यो ।
नेपालले लिग–२ को अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्यो । नेपालले यो उपलब्धि एक महिनाको अवधिमा हासिल गरेको हो । लगातारको सानदार प्रदर्शनले लिग–२ तालिकाको तेस्रो स्थान हासिल गर्दै नेपाल सिधैं एकदिवसीय विश्वकपमा छनोट भयो । जहाँ नेपालले वेस्ट इण्डिज र जिम्बाब्वेसँग पहिलोपटक ओडिआई खेल्यो ।
यस्तै, मोन्टीको प्रशिक्षणमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेर पहिलोपल्ट एसिया कपको यात्रा पनि गर्यो । एसिया कपमा नेपालले पहिलोपटक नै क्रिकेटका ‘पावरहाउस’ भारत र पाकिस्तानसँग खेल्यो ।
यति मात्र होइन नेपालले मोन्टीको प्रशिक्षणमा १० वर्षपछि टी–२० विश्वकपको टिकट पनि काट्यो । विश्वकपमा नेपालले जित निकाल्न नसके पनि दक्षिण अफ्रिका र बंगलादेशजस्तो टेस्ट टिमलाई कडा टक्कर दियो । वेस्ट इण्डिज र अमेरिकामा आयोजित उक्त विश्वकपमा नेपालले दक्षिण अफ्रिकासँग एक तथा बंगलादेशविरुद्ध २१ रनको हार बेहोर्यो ।
यी दुईमध्ये दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेलेको प्रदर्शनको चौतर्फी चर्चा भयो । यदि खेलाडीमा परिपक्वता देखिएको भए त्यो म्याच नेपालको पक्षमा आउँथ्यो । तर, अन्तिममा खेलाडीबीचको तालमेल नमिल्दा नेपालले लगभग जितिसकेको खेल हातबाट फुत्कायो ।
त्यसपछि हो हेडकोच मोन्टीविरुद्ध केही आलोचनाका स्वर सुनिन थालेका । उक्त खेलको अन्तिममा यदि गुलशनकुमार झालाई प्रशिक्षकले केही सल्लाह दिएको भए नेपालले खेल जित्ने थियो भन्ने आवाज अहिले पनि यदाकदा सुनिन्छन् ।
एकपछि अर्को सफलताको स्वाद चाखिरहेको नेपालले विश्वकपपछि भने खराब प्रदर्शन गरिरहेको छ । विश्वकप खेलेपछि नेपालले एकदिवसीय र टी–२० आईमा १५ म्याच खेलेको छ । जसमध्ये नेपालले सातमा हार तथा ६ खेलमा जित निकालेको छ ।
बाँकी दुई खेलमा भने नेपालले पानी पर्दा अंक बाँड्यो । नेपालले लिग–२ अन्तर्गत अर्को सिरिज आउँदो मे महिनामा खेल्ने तालिका छ । र, त्यसअघि क्यान नयाँ प्रशिक्षक नियुक्त गरेर टिमलाई लयमा पर्काउने योजनामा देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।