भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको बेथितिविरुद्ध स्थानीयवासीले आन्दोलन सुरु गरेको करिब तीन महिना बितिसकेको छ । तर, समस्याको समाधानतर्फ कुनै पनि निकायले अग्रसरता देखाएका छैनन् ।
स्थानीय तीन महिनायता हरेक दिन बिहान १० बजे केन्द्र अगाडि उभिन्छन्, नारा लगाउँछन् । तर, कुनै प्रतिक्रिया पाउँदैनन् । उनीहरूले केन्द्रमा भइरहेको बेथिति तथा केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठविरुद्ध पनि नाराबाजी गर्छन् । यता कार्यकारी निर्देशक श्रेष्ठ भने नसुनेझैँ गर्छन् ।
केन्द्रभित्रको अनियमितता र बेथिति तत्काल अन्त्य गर्नुपर्ने, केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने माग उनीहरूको माग छ ।
यस्तै, अस्पतालभित्रका सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तलबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूले राख्दै आएका छन् ।
मानव अंग प्रत्यारोपण केन्द्रका बेथितिबारे सरकारैपिच्छे फेरिने स्वास्थ्यमन्त्रीलाई समेत जानकारी गराएपनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । कुनै पनि स्वास्थ्यमन्त्रीले डा. श्रेष्ठलाई ‘टसको मस’ गराउन नसकेको र उल्टै कार्यकारी निर्देशक श्रेष्ठबारे मौन रहेको भन्दै स्थानीयवासी रुष्ट बनेका छन् । उनीहरू भन्छन्, कहाँ छ सरकार ?
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा केन्द्रभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।
मन्त्रीको बोली फेरियो, फेरिएन भक्तपुरवासीको व्यथा
दैनिकजसो गरिने विरोधबारे अहिलेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नदेखेझैँ गरिरहेका छन् । स्थानीयले पटक–पटक स्वास्थ्यमन्त्री पौडेललाई भेटेर आफ्ना गुनासा नराखेको होइनन् । तर, मन्त्रीदेखि सरोकारवाला पक्ष सबैले ‘कानमा तेल हालेर सुतेको’ प्रदर्शनकारीको आरोप छ ।
‘प्रदर्शन सुरु गरेको तीन महिना पूरा भइसकेको छ । तर, अहिलेसम्म कहीँ कतैबाट शुभ संकेत तथा प्रतिक्रिया आएको छैन । यहाँ त काले–काले मिलेर खाऊँ भाले भन्ने जस्तो प्रवृत्ति देखियो,’ बेथितिविरुद्ध प्रदर्शन गरिरहेका स्थानीय विष्णुकुमार पौडेल आक्रोश पोख्छन्, ‘अब हामीले कानुनीरूपमा अगाडि बढ्ने तयारी गरेका छौँ । सही मानिसले राज्य सञ्चालन गरेको भए न्याय उहिल्यै हुन्थ्यो । तर, गलत मान्छेले राज्यले सञ्चालन गरिरहेको अवस्था छ । यहाँ त स्वास्थ्य मन्त्रीभन्दा ठूलो कार्यकारी निर्देशक छन् । मन्त्रीले कारबाही गर्न खोज्दा मन्त्रीकै पद जाने सम्भावना देखिन्छ ।’
डा. श्रेष्ठको विभिन्न ठाउँमा कमजोरी स्पष्ट देखिइसक्दा पनि केही माफियाले संरक्षण दिइरहेको उनको आरोप छ । उनका अनुसार पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पनि केन्द्रमा भइरहेको बेथितिविरुद्ध जानकारी गराइएको थियो । पूर्वस्वास्थ्यमन्त्री यादवले पनि समस्या समाधानको आश्वासन दिएका थिए । तर, काम भने अगाडि बढेको देखिएन । र, पदमुक्त भएपछि झन् काम गर्ने कुरै नभएको पौडेलको भनाइ छ ।
‘अहिलेका स्वास्थ्यमन्त्री पौडेललाई पटकपटक जानकारी गराएका छौँ । काम गर्छौ भन्नुहुन्छ । तर, खोइ अहिलेसम्म पनि कार्यकारी निर्देशकलाई कारबाही गरेको ? मानव अधिकार आयोगमा पनि उजुरी दिएको लामो समय भइसकेको छ । त्यहाँबाट पनि कुनै प्रतिक्रिया आएको छैन । अनुसन्धान हुने कुरा त परै जाओस्,’ स्थानीय विष्णुकुमार भन्छन्, ‘कार्यकारी निर्देशक श्रेष्ठ पनि प्रतिक्रियाविहीन भएर बसेका छन् । हामीसँग भेट गर्नै मान्दैन । तर्कीतर्की हिँडेका छन् । केही समयअघि स्वास्थ्यमन्त्री पौडेलले भने नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिसँग सामूहिक छलफल गर्न डा. श्रेष्ठलाई सुझाएको सुन्नमा आएको छ ।’ तर, कहिले सामूहिक छलफल हुन्छ त्यसको भने टुंगो नरहेको उनको भनाइ छ ।
विवादमा मुछिएका अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई संरक्षण गरेको भन्दै स्थानीय नागरिक समाजका अगुवा राजेन्द्र पुरी पनि आपत्ति जनाउँछन् । अस्पतालको सेवासुविधा रोक्ने, आफूखुसी डाक्टर बर्खास्त गर्ने साथै अवैधानिकरूपमा मानव अंग प्रत्यारोपण गर्नेलाई मन्त्रीले संरक्षण गरेकोमा आफूहरू अचम्मित परेको पुरीले बताए । डा. श्रेष्ठलाई बर्खास्त नगरेसम्म आन्दोलन जारी राख्ने पुरीको भनाइ छ ।
स्थानीय चन्द्रलाल सुवाल पनि केन्द्र अगाडि आएर प्रदर्शन थालेको यतिका दिन भइसक्दा पनि सरोकारवाला निकायले कुनै कदम नचाल्दा तीन छक परिरहेको बताउँछन् । ‘मैले बुझ्न नसकेको कुरा हामीले यतिका दिनदेखि प्रदर्शन गरिरहेका छौँ । तर, सरकारलाई हाम्रो गुनासो सुन्ने कुनै फुर्सद नै छैन । सरकारले हाम्रा मागप्रति जवाफदेही हुनु पर्दैन,’ स्थानीय सुवाल भन्छन्, ‘केही सीप नलागेपछि डा. श्रेष्ठसँग भेट्न हारगुहार गरिरहेका छौँ । स्वास्थ्य मन्त्रालय धाएको मात्रै तीन वर्ष बितिसकेको छ । तर, केही चालचुल छैन ।’
आरोपले घेरिएका श्रेष्ठ
यसअघि दुई कार्यकाल निर्देशक रहँदा प्रत्यारोपण केन्द्रमा अनियमितता गरेको प्रमाणित हुँदा पनि सरकारले डा. श्रेष्ठलाई कारबाही गर्न सकेको थिएन । यस्तै, केन्द्रमा रहँदा उनीमाथि कर्मचारीलाई शोषण गरेको आरोपसमेत लागेको थियो ।
दुई कार्यकालभरी नै विवाद र अनियमिततामा मुछिएका डा. श्रेष्ठलाई सरकारले कारबाही नगरी उल्टै निर्देशक जिम्मेवारीमा बसिरहन हरियो झण्डा देखाएपछि केन्द्रका कर्मचारीदेखि स्थानीय लामो समयदेखि सरकारसँग रुष्ट छन् । स्थानीयवासीका अनुसार केन्द्रमा भएका उपकरण प्रयोग गर्न सक्ने दक्ष सर्जन वा चिकित्सकलाई हटाउने, महँगो उपकरण थन्क्याउने र बिरामीलाई उपचारबाट वञ्चित गर्ने गरिएको छ । तीनथरीका मानव अंग प्रत्यारोपण सेवा उपलब्ध छ भनेर प्रचार गर्ने, तर स्थान, दक्ष जनशक्ति र स्रोत साधनको अभाव रहेको भन्दै बिरामीलाई फर्काउने गरिएको स्थानीयको दाबी छ ।
तेस्रो कार्यकालसम्म आइपुग्दा पनि डा. श्रेष्ठले बदमासी गर्न नछोडेको स्थानीयको आरोप छ । केन्द्रमा भइरहेको अनियमितताविरुद्ध आन्दोलन थालेको तीन महिना बितिसक्दा पनि मन्त्रालय केन्द्रका निर्देशक श्रेष्ठविरुद्ध कुनै कदम चाल्न सकेको छैन ।
अनियमितता ठहर, छैन कुनै कारबाही
स्वास्थ्य क्षेत्रमा डा. श्रेष्ठको विषयमा अख्तियार र महालेखाले करोडौं अनियमितताका प्रतिवेदनले निकालेका छन् । तर, उनी नैतिकरूपमा पद छाड्न राजी छैनन् । प्रत्यारोपण केन्द्रका निर्देशकका रूपमा डा. पुकारले गलत काम गरेको निष्कर्ष निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै विगतमा उनलाई कारबाही सिफारिस गरेको थियो ।
मन्त्रालयका तत्कालीन चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले डा. पुकारलाई कारबाही सिफारिस गरेको हो । श्रेष्ठको समितिले डा. पुकारले कर्मचारीमाथि अन्याय गरेको, कर्मचारी नियुक्ति प्रक्रिया नियमअनुसार नगरेको, अस्पतालमा नर्सले गरिरहेको आन्दोलन र कर्मचारीको समस्या समाधान गर्न नसकेकोलगायतका समस्या देखाउँदै कारबाहीको सिफारिस गरेको थियो ।
डा. पुकारको कार्यकालमा केन्द्रमा कमिसनका लागि प्रयोगशालाका केमिकललगायत अन्य आवश्यक सामग्री खरिद हुन्थ्यो । तर, ती केमिकल र सामग्री खेर फाल्नेदेखि निदानमा समेत लैजाने गरेको पाइएको थियो । केन्द्रले खरिद गरिएका ४० प्रतिशतभन्दा बढी रिएजेन्ट तथा केमिकल खेर फाल्ने गरेको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले नै देखाएको छ । महालेखाले अस्पताललाई आन्तरिक नियन्त्रण प्रणाली सबल बनाएर अधिकतम उपलब्धि प्राप्त गर्न सुझावसमेत दिएको थियो ।
कानुनी सहायता लिने तयारीमा स्थानीय
केन्द्रमा भइरहेको बेथितिबारे भक्तपुरबासीले सरकारलाई झकझक्याएको लामो समय बितिसकेको छ । तर, कुनै पनि निकायले ठोस कदम चाल्न नसकेको स्थानीयको आरोप छ ।
‘हामीले हरेक निकाय धाइसकेका छौँ । छानबिन प्रक्रियामा कुनै निकायले चासो देखाएको छैन । राज्य जनताप्रति जवाफदेही नै छैन,’ स्थानीय विष्णुकुमार भन्छन्, ‘वडा, प्रदेशदेखि केन्द्र सरकारसम्म मिलोमतो छ । हामीले अदालतमार्फत न्याय पाउने आसमा अगाडि बढिरहेका छौं । चाँडै केन्द्रका कार्यकारी निर्देशकविरुद्ध अदालत जान्छौं ।’
केन्द्रमा भइरहेको गतिविधिबारे चौतर्फीरूपमा चासो बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी भने स्थानीयका सबै माग जायज नभएको बताउँछन् । ‘स्थानीयको केही मागबारेमा सरकारले उहाँहरूसँग छलफल गर्ने वातावरण बनाउँदैछ । चाँडै यस विषयको टुङ्गो लाग्नेछ,’ प्रवक्ता प्रकाश बुढाथोकीले भने ।
मन्त्रालयले विभिन्न चरणमा स्थानीयबासीसँग छलफल गरेको तर ती छलफलमा कुनै ठोस निर्णय हुन सकेन । अझै पनि आन्तरिकरूपमा अनुसन्धान तथा छलफल नै भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।
यो पनि
राष्ट्रिय प्रत्यारोपण केन्द्र विवाद : स्वास्थ्यमन्त्रीले किन खुट्टा कमाए ? [भिडियोसहित]
डा. पुकारचन्द्र श्रेष्ठ : अंग प्रत्यारोपणमा अब्बल, प्रशासन सञ्चालनमा असफल
प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डाक्टरलाई स्वास्थ्यमन्त्रीकै संरक्षण
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विवाद : नक्कली सर्जनबाट मिर्गौला प्रत्यारोपण गराएको आरोप
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।