सर्लाहीको बागमती नगरपालिका-५ टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरुल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरुल लगाएका छन् । चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरुल बेचिसक्ने उनको योजना छ । ‘तलको मूल्य माघे सङ्क्रान्तिमा राम्रो पाइन्छ’, उनले भने, ‘त्यसकारण पुस २५/२६ गतेसम्म बेचिसक्ने योजना छ ।’
तरुल स्वास्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले याे सयम मूल्य बढ्ने गरेको छ । दलबहादुर झैँ यहाँका किसानहरूलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका-५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ ।
‘बगरको खेती सुन जस्तै बनेको छ’, उनले भने, ‘तरुल उत्पादनबाट राम्राे आम्दनी हुन्छ ।’ तरुल खेती गरेका बागमती नगरपालिका-४ जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताए । खड्काले पनि एक बिघामा तरुल लगाएका छन् ।
यहाँका किसानले आकाशे र पत्ताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन् । आकाशे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती-४, जिरायतका तरुल व्यापारी रामदरेस महतोले बताए । अर्को पत्ताले अर्थात् रातो जातको तरुल भने, उत्पादन कम हुने, खान स्वादिलो हुने भएकाले मूल्यसमेत महंगो हुने उनको भनाइ छ ।
यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरुल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरुल प्रतिकिलो एक सय २० रूपैयाँसम्ममा बिक्री भएको थियो । हाल बजार मूल्य प्रति किलो ५५ देखि ६० रूपैयाँ रहेको व्यापारी डम्बरबहादुर खड्काले बताए । यस वर्ष व्यापारी खड्का २० बिघाको तरुल बजार लैजाने तयारीमा छन् ।
उनले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाएका छन् जग्गा भाडामा लिँदा वर्षको प्रतिबिघा ५० देखि ६० हजार रूपैयाँसम्म तिर्नुपर्ने उनले बताए । तरुल खेती गर्दा प्रतिकट्ठा बीउ, मल खाद, कामदार गरी आठ हजारसम्म खर्च हुने उनको भनाइ छ । तरुल खेतीबाट किसानले प्रतिकट्ठा ३० देखि ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि तीन सय बिघा क्षेत्रफलमा तरुल खेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । त्यसकारण बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।