logo-img

उपचार गर्न आएका डाक्टर नक्कली परेपछि...

प्रविधिको प्रयोग बढेसँगै चोरहरूले पनि फरक–फरक शैलीकाे प्रयोग गर्न थालेका छन् । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने घटना दिनप्रति दिन बढ्दै गइरहेका बेला ललितपुरमा पनि एउटा त्यस्तै घटना घटेको छ । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ?

ललितपुरका एकजना बिरामी नक्कली चिकित्सकको फन्दामा पर्दा उपचारको साटो लुटिएका छन् । केही दिनअघिको उक्त घटनाका आरोपीलाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको छ ।

नक्कली डाक्टर बनी लुटपाटमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । उनको साथबाट ५९ हजार तीन सय ६० र मोबाइल तीन थान बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।



उनका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बनेका थिए । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए ।

उपचारका नाममा उनले बेहोस हुने औषधि खुवाई बिरामीलाई बेहोस पारेर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद तीन लाख चोरी गरेको प्रहरीले जनाएको छ । उनलाई आजै चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको सूचना अधिकारी आचार्यले बताए ।





  • प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया