चाकु माघे सङ्क्रान्ति अर्थात् जाडोयाममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो । सामान्यरूपमा अन्य समयमा यसको प्रयोग भएता पनि माघे सङ्क्रान्तिको बेला बढी खपत हुने गर्छ ।
काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्नेबित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो । टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् ।
माघे सङ्क्रान्तिमा बढी चाकुको माग हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले मागअनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ ।
टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिई रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए ।
‘चाकु व्यवसायले निरन्तर चार पुस्ता टेकेको छ । माघे सङ्क्रान्तिमा चाकु खानुपर्छ भन्ने भाष्य समाजमा रहेकाले तिहारलगत्तै यो दुई महिना चाकुको अत्यधिक बजारमा पठाएका छौँ । चार पुस्तासम्म पेसामा निरन्तर लागि रहेका छौँ । पेसा मात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौँ,’ उनले भने ।
चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुँदा चिसो मौसममा यसको खपत बढी हुने गरेको उनले बताए । चाकुको उत्पादन दुई महिना मात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाइ छ ।
उनले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको बताए । उनका अनुसार पछिल्लो समय राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि चाकु निर्यात गर्ने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ ।
‘राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि टोखाको चाकुको माग बढेको छ । वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन । यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ । सोहीअनुसार निर्यात गर्ने पनि गरेका छौँ । अष्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ,’ श्रेष्ठले भने ।
उनले चाकुको प्रकारअनुसारको मूल्य फरक हुने गरेको बताए । चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने गरेको भए पनि सरकारले त्यति ध्यान नदिएको उनको गुनासो छ । श्रेष्ठले आफूहरूले दिएको करबाटै अनुदान दिएको भएपनि सहयोग गर्न असहज मान्ने गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
‘स्थानीय सरकारले व्यवसायलाई हेरेको छजस्तो लाग्दैन । हामीले तिरेको कर हामीलाई नै दिने हो । १० लाख माग गर्यौ भने २ लाख आउँछ । स्थानीय सरकारले चासो नै दिएको छैन । नेताहरूले भाषण मात्र गर्ने हो काम कसैले गर्दैन् । अनुदानको नाममा हामीबाट चाकु नै लिएर जानुहुन्छ,’ उनले भने ।
साथै, बाहिर पठाउने चाकुको ल्याब टेस्ट पनि भारतमा गएर गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा नै यसको व्यवस्था गर्न सके व्यवसायीहरूलाई सहज हुने श्रेष्ठको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।