दाङको लमही नगरपालिका-३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न जाे काेहीलाई आकर्षित गर्ने गरेको छ । चुरे पहाडको फेदमा रहेको पूर्व-पश्चिम सिमानामा वन तथा जंगल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा जखेरा ताल अवस्थित छ ।
यहाँको मनमोहक दृश्य, पूर्वाधार विकासलगायत कारणले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा जखेरा ताल रहेको स्थानीय बताउँछन् । अहिले ताल अवलोकन, घुमघाम गर्ने, वनभोज खानेलगायत प्रयोजनका लागि दैनिक दुई सयदेखि तीन सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका जखेरा तालका कर्मचारी ओमभक्त चौधरीले बताए । उनका अनुसार बिदाको दिनमा छ/सात सयसम्म पर्यटकहरू आउने गर्दछन् ।
लुम्बिनी प्रदेशको राजधानीबाट नजिक पर्ने सो ताल अहिले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको हो । प्रदेश राजधानीमा आएका अन्य जिल्लाका सरकारी, संघसंस्थाका प्रतिनिधिहरू समय अनुकूल परेर जखेरा अवलोकनका लागि यहाँ आउने गरेका चौधरीले बताए । बाह्र बिघा क्षेत्रफल रहेकामा अहिले साढे सात बिघा ताल फैलिएको छ । तालको वरिपरि बाँकी ठाउँमा वनजंगल छ ।
तालको गहिराई छदेखि सात फिटसम्म रहेको जनाउँदै कर्मचारी चौधरीले उत्तरतर्फ गणेशको र पूर्वमा सिद्देश्वर महादेवको मन्दिर अवस्थित रहेकाले धार्मिक पर्यटकको आगमन पनि हुने गरेको बताए । यहाँ आउने पर्यटकले ढुंगा चढेर मन्दिर दर्शन गर्दछन् ।
तालको मुख्य आकर्षणमा वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हुन् । ‘तालमा डुंगा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् । ७ वटामात्र डुंगा भएकाले सिजनमा पालो कुर्नुपर्छ । केही पर्यटक ढुंगा चढ्न नपाएर फर्कने गर्नुहुन्छ’, कर्मचारी चौधरीले भने ।
एक जनाले पूरै तालमा ढुंगा चढेर जलविहार गरेमा एक सय शुल्क लिने गरिएको जनाउँदै उनले यहाँ सात जनाले रोजगारी पाएकाे उल्लेख गरे । जखेरा तालको अवलोकन गर्न तुलसीपुर उपमहानगरपालिका-६ बाट आएकी ४८ वर्षीया राधा रजौरेले यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको बताइन् ।
उनले भनिन्, ‘यति सुन्दर ताल रहेछ यसले फेवा तालको झल्को दिन्छ । यसलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका सबै निकायबीच समन्वय गरी लाग्नुपर्छ ।’ ताललाई अझै सफा, स्वच्छ राखी थप भौतिक पूर्वाधार निर्माण गर्नसके यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुने रजौरेले बताइन् । यस क्षेत्रको प्रचारप्रसारमा स्थानीय निकायले सहयोग गर्नुपर्ने भन्दै पूर्वाधार विकास गरी बाह्य पर्यटक आगम बढाउने योजनाअनुसार काम गर्नुपर्ने सुझाव दिइन् ।
घुमघाम गर्न दङ्गीशरणबाट यहाँ पुगेका ३६ वर्षीय कमल नेपालीले ताल क्षेत्रमा पहिलेको तुलनामा अहिले धेरै सुधार भएको देख्दा खुसी लागेको बताए । ‘पाँच वर्ष पहिले यो ताल घुम्न आएको थिए, यहाँ धेरै समस्या थियो, अहिले धेरै पूर्वाधार विकास भएको रहेछ’, उनले भने । तालको सुन्दरता बढाउन र धेरै पर्यटक भित्र्याउन स्थानीय, प्रदेश तथा संघीय सरकारले भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने उनकाे भनाइ छ ।
विगतका वर्षमा नागरिकहरूको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले यो ताल जिल्लाको मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित हुँदै गएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
‘ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । तत्कालीन जिल्ला भू-संरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालय, संरक्षण समिति, लमही नगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, डिभिजन वन कार्यालय, लुम्बिनी प्रदेश सरकार तथा यहाँका नागरिकहरूको सहयोग तथा संरक्षणले यो अवस्थामा आउन सफल भएका हौँ’, उपाध्यायले भने ।
उनका अनुसार गत वर्ष सहरी विकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय दाङले चार करोड रकम उपलब्ध गराएको र उक्त रकमबाट तालको संरक्षण, मर्मत सम्भार, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पक्की नालालगायत पूर्वाधार विकास निर्माण गरिएको हो ।
यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । स्थानीय थारू भाषामा जुन ठाउँमा आकाशे पानी संकलन भएर जम्मा हुन्छ, त्यस ठाउँलाई ‘जखेरा’ भनिन्छ । २०३० सालमा लमही नगरपालिका-३ निवासी स्व.दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर खेर गइराहेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी संकलन गरी सिँचाइ गर्ने उद्देश्यले चुरे पहाडको फेदीमा कृत्रिम खाडल खनी मानवनिर्मित जलभण्डाका रूपमा उक्त ताल निर्माण गरिएकाे जानकारहरू बताउँछन् ।
सोही ताल अहिले जखेरा तालका नाममा परिचित भएको हो । दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किमी दूरी यात्रा गरेपछि ताल भएको स्थानमा पुगिन्छ । पूर्वपश्चिम राजर्मागबाट नजिक रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गर्दछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।