थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
‘थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ,’ उनले भने ।
गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए । यसअघि नेपालमा पहिलोपटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।
मङ्किपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।
यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, र्याल, भाइरसबाट दूषित सतह र सामग्री, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछयान र लुगाबाट सर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।