logo-img

शंकर पोखरेल भन्छन्- ‘सरकार ढल्ने कुरा बेमौसमी बाजा हो’
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेसजस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताएका छन् ।

सोमबार दाङमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरे ।

देशमा अराजकता र बेथिति चाहनेहरूबाट सरकारको भविष्यका बारेमा अनावश्यक टीकाटिप्पणी हुनुलाई बेमौसमी बाजाको संज्ञा दिँदै पोखरेलले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गरी देश र जनताको पक्षमा उभिन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

‘राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको छ, यस अवस्थामा अपेक्षा गरिए अनुसारको परिणाम आउन केही समय लाग्छ, यो सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको छ, धैर्य गरौँ, अर्थतन्त्रमा सुधार सहित विकास–निर्माणले गति लिनेछ,’ पोखरेलले भने ।



बैङ्कको ब्याजदर घटे पनि आर्थिक तरलता बढेको तथा लगानी गर्न व्यवसायी उत्साहित नभएको प्रसङ्ग उल्लेख गर्दै महासचिव पोखरेलले ढुक्कसँग लगानी गर्न अनुरोध गरे ।

‘देश विकास र सुशासनका लागि अब कुन–कुन विषयमा कानुन बनाउनुपर्ने हो त्यसको पहिचान गरी प्राथमिकताका साथ कानुन बनाइने छ । शासकीय सुधारका पक्षमा छ सदस्यीय कमिटीले काम गरिरहेको छ । आवश्यक संयन्त्रको व्यवस्थासहित ऐन, कानुन निर्माण गरी आर्थिक अपचलन तथा भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई सहयोग गर्ने दायित्व हामी सबैको हो,’ पोखरेलले भने । 





  • प्रकाशित मिति : पुस १५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया