logo-img

छोराको व्यापार बढाउन मेयरले बनाए धारा, गाउँ भने 'काकाकुल'

पानी जम्मा गर्न ट्यांकी छ । घर–घरमा धारा पनि छन् । तर, खानेपानी भने आउँदैन । खानेपानीको अभावमा सिराहा गोलबजार नगरपालिका-१ भुल्केका करिब ८० घरधुरी काकाकुल छन् ।

२०७९ सालमा पूर्वमेयर देवनाथ साहलाई हराउँदै श्यामकुमार श्रेष्ठले गोलबजार नगरपालिकाको कुर्सी सम्हालेपछि भुल्केका जनताले पानी अभाव हट्ने आश गरेका थिए । किनकी श्रेष्ठले चुनाव जित्ने मुख्य एजेन्डा खानेपानीलाई बनाएका थिए ।

नगरपालिकाले पनि ‘एक घर एक धारा’ योजनाअन्तर्गत पानी ट्यांकी निर्माण र बोरिङ्ग जडान सुरु गराएपछि स्थानीयको आठ मजबुत बन्दै गएको थियो ।



आर्थिक वर्ष २०७९/०८० मै गोलबजार नगरपालिका १ भुल्के गाउँमा ४० लाख रकम खर्चेर बोरिङ्ग जडान, पानी ट्यांकी निर्माण र करिब ८० वटा धारा जडान कार्य सम्पन्न भयो ।

स्थानीयलाई एक/दुई महिनामा पानी वितरण गर्ने आश्वासन बाँडिएको थियो । स्थानीय पनि छुट्टै पानी खाने पाइने भएपछि खुशी भएका थिए । त्यसरी आशै आशमा बसेका साढे दुई वर्ष हुँदा पनि स्थानीयले पानी खान पाएका छैनन् । धाराबाट पानी झर्ला र प्यास मेटौँला भन्ने आशमा रहेकी ६० वर्षीया विन्दी विकले अब भने आशा मारिसकेकी छिन् ।



निर्माण गरिएका धारामा खिया लागेको छ भने कतै धाराहरू बोराले छोपेर राखिएको छ । भत्किएका छन् । स्थानीय ७५ वर्षीय कमान सिंह भन्छन्, ‘खोई के विकास आयो आयो । हेरेर चित्त बुझाउनु परेको छ । बोरिङ्ग चलाउँदा त लतत्त हिलो पो आयो । पानी आएन । तीन वर्ष भयो पानी कुरेको अझै झरेको छैन ।’



खानेपानी उपभोक्ता समिति अध्यक्ष फूलमाया विकले आर्थिक वर्ष २०७९/०८० मा मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले खानेपानी ट्यांकी निर्माण र बोरिङ्ग जडान कार्य गराएको जानकारी दिइन् ।

उनले भनिन्, ‘नामको लागि उपभोक्ता समिति निर्माण गरेर मेयर पुत्रले यो आयोजना आफ्नो हातमा लिएका थिए । उतीबेलै बोरिङ्ग जडान असफल भएको थियो तर सफल भनेर भुक्तानी निकालियो । खानेपानी आयोजना भने अझैसम्म अलपत्र छ ।’

खानेपानीको हाहाकार भोगिरहेका भुल्केका जनताले विगत अढाई वर्षमा दर्जनाैँ पटक मेयर श्रेष्ठलाई भेटेर नयाँ बोरिङ्ग जडान गरी खानेपानी आयोजना सञ्चालनमा ल्याउन घचघच्याउँदै आएका छन् ।

स्थानीय महेन्द्र यादव भन्छन्,‘मेयर श्रेष्ठलाई भेट्न जाँदा उनले अहिले तुरुन्तै दुई मिनेटमा काम सुरु गराइहाल्छु झैँ गर्छन् । अनेक तडकभडक देखाउँछन् । हाकिमलाई इन्जिनियरलाई फोन गर्छन् । तर हामी फर्केपछि जस्ताको त्यस्तै ।’

कांग्रेसका नेता शरदराजा शाहीले नगरपालिकाका शासक कमिशनखोरी भएका कारण गाउँमा पानी आउन नसकेको आरोप लगाउँछन् ।

‘बजारमा पतालको पानी तानेर पहाडमाथि चढाइदिने समरसेवल मोटर उपलब्ध छन् । गाउँमा विजुली पनि पुगेको छ । बोरिङ्ग जडान गर्ने ठूला मेसिनहरू पनि बग्रेल्ती उपलब्ध छन् । शासन सत्ता इमान्दार हुने हो भने अब कुनै गाउँमा खानेपानीको हाहाकारको अवस्था रहँदैन । तर गोलबजार नगरपालिकाका शासकको पहिलो अभीष्ट विकास होइन ।  प्रथम प्राथमिकता कमिशनखोरी हो । त्यसकारण यो अवस्था आइलागेको हो । घर-घरमा धारा छन् तर खानेपानी छैन,’ उनले भने ।

यसैगरी नेकपा एकीकृत समाजवादीका नेता भेषराज ठकुरीले श्यामकुमार श्रेष्ठलाई भोट दिएर जिताएको परिणाम अहिले स्थानीयहरूले भोगिरहेको बताए । उनले भने, ‘घर अगाडि धारा छ । गाउँको सिरानमा पानी ट्यांकी छ । तर पानी छैन । तीन बर्षदेखि यो बिजोग र सन्ताप हेर्दै बस्दै गरेका छौँ । मेयर श्रेष्ठलाई भोट दिएर जिताएको नतिजा भोग्दैछन् जनता ।’

यस्तै, नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सिंह मेयरले आफ्ना छोराको व्यापार चलाउन भुल्केका जनतासँग खेलबाड गरेको आरोप लगाउँछन् ।

‘दुर्योधन जस्ता चरित्रका पुत्रको वशीकरणमा परेका धृतराष्ट्र पिताको कमिशन मोहको परिणाम हो । भुल्केको खानेपानी योजना । त्यतिबेला नै बोरिङ्ग असफल भएको थाहा भएकै हो । तर भुक्तानी निकाल्न बोरिङ्ग सफल भएको नौटंकी गरियो । पुत्रको व्यापार चलाउन भुल्केका जनताको कण्ठ सुकाइयो,’ उनले भने । 

  • प्रकाशित मिति : पुस १५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया