ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ ।
१२ असोजमा नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।
बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललितपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोखे । ‘दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ,’ उनले भने ।
बाढीले क्षति पुर्याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युतको समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ ।
‘नख्खु करिडोरमा टिपरका कारण बस्तीमा असर परेको छ । टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिपरको कारण धुलोको समस्या झन् बढेको हो,’ उनले भने ।
नख्खु र भैँसेपाटी जोड्ने नख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ । हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउँछन् । ‘मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन् । धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो,’ उनले भने ।
त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउँछन् ।
‘चिसो बढेको छ । बाढीपीडतहरू मुश्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरु भएपछि दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ,’ उनले भने । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।