logo-img

दूधमती नदीको संरक्षण र सौन्दर्यकरणको प्रयास

धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सीमांकनको काम सुरु गरिएको छ । आजदेखि विधिवत् रूपमा कार्यक्रम आयोजना गरी दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका-५ मा रहेको अरजनवाँ गाउँबाट सीमांकनको काम सुरु गरिएको हो ।

धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमिटरको दूरीमा रहेको दूधमती नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्साअनुसार नापजाँच गरेर क्षेत्रफल निकाल्ने र पिलर गाड्नेसहित जग्गा छुट्याउने गरी पैनी खन्ने काम आजैदेखि सुरु गरिएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झालगायत जनप्रतिनिधिहरूले संयुक्त रूपमा नेपालको झण्डोत्तोलन गरेर सीमांकनको शुभारम्भ गरेका हुन् ।​

उक्त अवसरमा  कांग्रेस सहमहामन्त्री यादवले दूधमती नदी पर्यटकीय क्षेत्रमा रूपमा विकास भए क्षीरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए ।



उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको अहिलसम्मकै ठूलो गौरवको आयोजना रहेको दूधमती नदीलाई करिडोरका रूपमा स्थापना गरिने भएकाले यसमा स्थानीय जनताको आवश्यकता रहेकाले सहयोग गर्न आग्रह गरेका छन् ।

परियोजनाबारे जानकारी गराउँदै मन्त्री यादवका अनुसार करिब पाँच अर्बको बहुवर्षीय परियोजनाअन्तर्गत रहेको यस योजनाअन्तर्गत दूधमतीको बहाव क्षेत्रबाहेक दुवैतर्फ ११/११ मिटर कालोपत्र सडक, उद्गमस्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यीकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ÷गाउँ नजिक दूधमती र सीता माताको मन्दिरसहित पार्क, प्रत्येक दुई/दुई किलोमिटरको दूरीमा ड्यामको व्यवस्था गरिनेछ ।



दूधमती नदी संरक्षण तथा संवर्द्धन उच्चस्तरीय उपसमितिद्वारा सञ्चालित दूधमती नदी उक्सा तथा विकास परियोजनाअन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खनन गरी नदीको सौन्दर्यीकरण गरिनेछ । प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१/८२ मा दुई करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको छ ।



  • प्रकाशित मिति : पुस १५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया