logo-img

‘रातो कार्ड’ले दिएकाे खुशी !

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपांगतासम्बन्धी रातो परिचयपत्र पाएकी छिन् । जन्मेको ६ महिनामा दुवै खुट्टा लुलो भएकी उनको कम्मरमुनिको भाग चल्दैन । अपांगता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उनले बताए ।

ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उनले उक्त प्रमाणपत्र पाइन् । ‘ह्विलचेयर बिना हिँड्डुल गर्न सक्दिँन’, पाहानले भनिन्, ‘अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।’

नगरपालिकाले शिविरमै उनी र उनको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको मेचीनगर महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।

सरकारले अपांगता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका परिचयपत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् भने चारै प्रकारका अपांगता भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने व्यवस्था रहेको खरेलले बताइन् ।



स्वास्थ्य शिविर भेटिएका मेचीनगर-१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिएका छन् । ‘ह्विलचेयरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘पहिले अर्को कार्ड थियो । अहिले डाक्टरहरूले जाँचेपछि रातो कार्ड दिनुभयो ।’

वडाहरूमा सञ्चालित स्वास्थ्य शिविरमै अपांगतासम्बन्धी पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका कैयौँ व्यक्ति खुसी भएका छन् । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा फरक-फरक स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपांगता भएका व्यक्तिहरूको पहिचान गरेको छ ।



अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगरलगायत झापाका १५ वटै पालिकामा हाल अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण शिविर सञ्चालन भइरहेको छ ।

तीनवटै पक्षको बराबर साझेदारीमा कार्यक्रम आयोजनाका लागि एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताए । उनले अपांगता भएका व्यक्तिका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका एक सय सात वटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र चार करोड ५० लाख खर्च हुने जानकारी दिए ।



शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरीलगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताए । ‘तीन वर्षसम्म त्रिपक्षीय लगानी साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ’, उनले भने, ‘त्यसपछि यो कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण हुने सहमति छ । हस्तान्तरण भएपछि नगरपालिकाले आफ्नै लगानीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ ।’

चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचयपत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बीमासमेत गरिदिने यो अभियानलाई सिंहदरबार गाउँमा आएको अर्थमा नगरवासीले बुझिरहेको नगर प्रमुख गोपाल बुढाथोकी बताए ।

अपांगता भएका व्यक्तिहरूको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनुपर्छ भन्ने सोचका साथ अभियानअघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । ‘अपांगता भएका व्यक्तिको पीडा कि स्वयं व्यक्तिलाई थाहा हुन्छ, कि परिवारलाई’, अधिकारीले भने, ‘त्यही भएर पीडामा मल्हमपट्टी लगाउन नगरपालिकाले केही राम्रो सुरुआत गरेको छ ।’

मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरूले अपांगता पहिचान गरेको र नगरपालिकाले स्थलगत रूपमा शिविरमै परिचयपत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी भएको सामाजिक अभियन्ता देवेन्द्र खरेलले बताए । उनले गाउँहरूमा अपांगताको अवस्था पिडादायी रहेको आफूले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको संख्या बढिरहेको बताए ।

‘नगरपालिकाले घरदैलोमा पुगेर अपांगता भएका व्यक्तिहरूको खोज गर्नु राम्रो कार्य हो’, उनले भने, ‘अभिभावकहरूलाई गर्भावस्थाको स्वास्थ्य हेरचाहसम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरू अपांगताको सिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।’

  • प्रकाशित मिति : पुस १५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया