logo-img

यसकारण आवश्यक छ, डायग्नोस्टिक टेष्ट [भिडियोसहित]
के भन्छन्- क्यान्सर रोग विशेषज्ञ डा.समीम अख्तर ?

कुनै पनि रोग पत्ता लगाउन डायग्नोस्टिक टेष्टको महत्वपूर्ण भूमिका हुन्छ । डायग्नोस्टिक टेष्ट सही भएन भने रोगको निदान सही तरिकाले हुनसक्दैन । डायग्नोस्टिक टेष्ट र यससँग सम्बन्धित विषय अन्तर्गत रहेर क्यान्सर रोग विशेषज्ञ डा.समीम अख्तरसँग फरकधारकर्मी रेश्मा सिंहले गरेको कुराकानीको सम्पादित अंश :

डायग्नोस्टिक जाँच भनेको के हो ?

डायग्नोसिस भनेको ग्रीक शब्द हो । यसको उत्पति ‘जिनोसिस’बाट भएको हो । जिनोसिस भनेको ‘ज्ञान’ हो अर्थात् रोगको बारेमा हामीले जुन ज्ञान लिन्छौँ त्यसलाई डायग्नोसिस भनिन्छ । डायग्नोस्टिक जाँच भनेको शरीरमा रहेको रोगको सुक्ष्म तरिकाले जानकारी प्राप्त गर्न गरिने एक प्रकारको प्रक्रिया हो । डायग्नोस्टिक जाँच चिकित्सा तथा स्वास्थ्यसम्बन्धी गरिने एक किसिमको अन्वेषण पनि हो ।

स्वास्थ्य क्षेत्रमा डायग्नोस्टिक जाँच प्रक्रियाको महत्व कति छ ?



चिकित्सा क्षेत्रमा डायग्नोस्टिक जाँच प्रक्रियाको धेरै नै महत्व छ । चिकित्सा क्षेत्रका लागि डायग्नोस्टिक जाँच मेरुदण्ड नै हो । डायग्नोस्टिक जाँचबिना हामीले कुनैपनि रोगको पहिचान र उपचार गर्न सक्दैनौँ । डायग्नोस्टिक जाँच सही हुनुपर्छ । र, सुक्ष्म तरिकाले सबै मापदण्ड पूरा गरेर विशेषज्ञले हेरेको, बुझेको तथा वैज्ञानिक तथ्यमाथी आधारित हुनुपर्छ ।

डायग्नोस्टिक जाँच प्रक्रिया कस्तो हुन्छ ? 



डायग्नोस्टिक जाँच प्रक्रिया विभिन्न किसिमको हुन्छ । विभिन्न किसिमको रोगको विभिन्न किसिमले परीक्षण गर्ने प्रक्रिया हुन्छ । बिरामीको सामान्य स्वास्थ्य परीक्षण गर्दा पनि चिकित्सकलाई रोग कहाँ छ, कस्तो रोग हो भन्ने मोटामोटी अनुमान हुन्छ । त्यसको आधारमा रगतको जाँच पठाउने गरिन्छ । रगतमा पनि विभिन्न जाँच हुन्छन् । रोगको प्रकृति हेरेर सोहीअनुरुप विभिन्न जाँच गर्न पठाइन्छ । र, रोगको पहिचान गरिन्छ ।

क्यान्सर रोग पहिचानमा डायग्नोस्टिक जाँच प्रक्रिया कति महत्वपूर्ण छ ?



डायग्नोस्टिक जाँच क्यान्सर रोग पहिचानका लागि प्रथम तथा महत्वपूर्ण कदम नै हो । क्यान्सर पहिचान र निदानका लागि डायग्नोस्टिक जाँच महत्वपूर्ण मानिन्छ । क्यान्सर रोग पत्ता लागिसकेपछि मात्र उपचार गर्न सहज हुन्छ ।

कतिपय समयमा क्यान्सरको शंका गरिएको हुन्छ तर पहिचान भएको हुँदैन । यस्तो अवस्थामा एउटा चिकित्सकको कर्तव्य नै रोगको किटान गर्नुपर्ने हुन्छ । क्यान्सर रोग नै हो भनेर पुष्टि नभइसकेको अवस्थामा कुनै पनि औषधि प्रयोग गर्न मिल्दैन । त्यसैले उपचारका अन्य विधि अगाडि बढाउन सर्वप्रथम क्यान्सर रोग पहिचानका लागि डायग्नोस्टिक जाँच गर्न एकदमै आवश्यक हुन्छ ।

के डायग्नोस्टिक जाँच गर्दा शतप्रतिशत नतिजा आउँछ ?

डायग्नोस्टिक जाँच गर्न नमुना पठाउँदा पहिले नै सिटीस्क्यान गरिएको, फोटो खिँचिएको, भिडियो एक्सरे, एक्सरेजस्ता परीक्षण गरिएको छ भने नतिजा शतप्रतिशत सही आउँछ । प्रविधिले नतिजा सही दिन्छ भनिरहँदा हामी चिकित्सकलाई भने दुःख लागिरहेको हुन्छ । किनभने हाम्रो चाहना त सबैजना स्वस्थ रहुन भन्ने हुन्छ । कुनै बेला हामीले शंका गरेको क्यान्सर रोग हुन्छ । तर डायग्नोस्टिक जाँचका लागि नमुना पठाउँदा नतिजा भने ‘नेगेटिभ’ आउँछ । यो एक किसिमको खुशीको पल हो । कोही बिरामीलाई, ‘तपाईंलाई क्यान्सर रोग छैन’ भन्न पाउँदा चिकित्सकलाई खुशी महसुस हुन्छ । तर डायग्नोस्टिक जाँच गर्दा नतिजा सकारात्मक आउँदा रोग अनुसारको उपचार विधिलाई अगाडि बढाउने गरिन्छ ।

डायग्नोस्टिक जाँचको नतिजा फरक आउने सम्भावना कति हुन्छ ?

डायग्नोस्टिक जाँचको नतिजा परीक्षण गर्ने स्थानअनुसार नतिजा कहिलेकाहीँ फरक-फरक आउनसक्छ । एउटा ठाउँको परीक्षणमा क्यान्सर पुष्टि भएको हुनसक्छ भने अर्को ठाउँमा क्यान्सर पुष्टि नहुन पनि सक्छ । यसमा बिरामी तथा चिकित्सकलाई दुविधा पर्नसक्छ । कहिलेकाहीँ ट्युमरमा क्यान्सरका कोषिका मात्र नभएर सामान्य कोषिका पनि मिसिएका हुनसक्छन् । जसलाई हामीले नाङ्गो आँखाले देख्न सक्दैनौँ ।

क्यान्सरका कोषिका र सामान्य कोषिका सँगसँगै मिलेर बसेको अवस्थामा डायग्नोस्टिक जाँच गर्न सिरिन्जद्वारा नमूना झिक्दा सामान्य कोषिका आउन सक्छन् । ती सामान्य कोषिकाको जाँच गर्दा नतिजा फरक पर्नसक्छ । तर यो एकदमै न्यून अवस्थामा मात्र फरक नतिजा आउने सम्भावना हुन्छ ।

डायग्नोस्टिक जाँचमा चित्र अथवा फोटोको भूमिका कस्तो हुन्छ ?

डायग्नोस्टिक जाँचमा फोटोको धेरै महत्व छ । रोग पत्ता लगाउनका लागि एक्सरेदेखि सिटीस्क्यानसम्म गर्नुपर्ने हुन्छ । यी परीक्षणको विधिले कुन रोग, कहाँनिर छ, कुन आकारको छ, यसको सम्बन्ध अन्य मांशपेशीसँग कस्तो र कहाँसम्म फैलिएको छ भनेर स्पष्ट रूपमा हेर्न तथा बुझ्न मद्दत पुग्छ ।

सिटीस्क्यान, एक्सरे, एमआरआई प्रविधि तथा प्रक्रियाको आ-आफ्नो महत्व छ । यसबाहेक डायग्नोस्टिक जाँचका लागि पेट सिटीस्क्यान पनि महत्वपूर्ण छ । यसबाट लुकेको क्यान्सर सजिलै पत्ता लगाउन सकिन्छ । बिरामीको टाउकोदेखि खुट्टासम्म ट्युमर कहाँनिर छ भनेर पत्ता लगाउन पेट सिटीस्क्यान परीक्षण विधि अपनाइन्छ ।
यो अन्यको तुलनामा महंगो पर्ने भएकाले सबै बिरामीलाई यो परीक्षण गर्न सुझाइँदैन । जो व्यक्तिहरूलाई यसको एकदमै खाँचो छ, त्यस्ता बिरामीमा मात्र यो विधिद्वारा स्वास्थ्य परीक्षण गरिन्छ । चिकित्सा विज्ञानमा यसलाई एउटा महत्वपूर्ण परीक्षणका रूपमा लिइन्छ ।

डायग्नोस्टिक जाँचको नतिजाले चिकित्सकलाई उपचारमा कति सहज हुन्छ ?

आजभन्दा धेरै वर्षअगाडि डायग्नोस्टिक जाँचभन्दा क्लिनिकल जाँच बढी प्रचलनमा थियो । पहिले चिकित्सकले बिरामीसँग कुरा गरेर रोग पत्ता लगाउने गर्थे । तर, हिजोआज प्रविधिको विकास भएसँगै चिकित्सा क्षेत्रमा पनि विभिन्न किसिमका उच्चस्तरीय प्रविधि भित्रिएका छन् ।

जसकारण रोग पत्ता लगाउने प्रविधि बढेसँगै रोगको पहिचान र निदानका लागि धेरै नै सहज भएको अवस्था छ । उपकरणको पहुँच सहज भएसँगै उपचारको पद्धतीमा पनि धेरै नै सहयोग पुगेको अवस्था छ । कुनै रोग प्रमाणित नभई उपचार पद्धति अपनाउँदा भविष्यमा जोखिम निम्तिने सम्भावना हुनसक्छ । त्यसैले रोगको पहिचानको लागि डायग्नोस्टिक जाँच गर्न एकदमै आवश्यक छ । यसले गर्दा चिकित्सकलाई उपचारको निश्चित दिशा प्राप्त हुन्छ र बिरामीलाई दुःख कम हुन्छ ।

नेपालमा डायग्नोस्टिक जाँचका लागि उपकरण पर्याप्त छन् ?

नेपालमा रगतसम्बन्धी सबै जाँच गर्ने उपकरण उपलब्ध छन् । त्यसैगरी एक्सरे, भिडियो एक्सरे, पेट सिटीस्क्यान, सिटीस्क्यान, एमआरआई पनि छन् । तर जेनेटिक टेष्टिङ कुनै–कुनै स्थानमा मात्र उपलब्ध छ । धेरैजसो ठाउँमा छैनभन्दा फरक पर्दैन ।

जेनेटिक टेष्टको नमुनाहरू अझै पनि अन्य देश पठाउनुपर्ने बाध्यता छ । यसमा सरकारले बेलैमा ध्यान दिन्छ भन्ने कुरामा आशावादी छौँ । आगामी दिनमा सबै प्रकारका स्वास्थ्य परीक्षणका उपकरणहरू नेपालमै उपलब्ध हुनुपर्छ भन्ने हाम्रो चाहना हो र सरकारले यसप्रति गम्भीर हुन आवश्यक छ ।

  • प्रकाशित मिति : पुस १५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया