विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् ।
बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मुलुकको आर्थिक विकास र क्षेत्रीय साझेदारितालाई फराकिलो बनाउने उनीहरूको विश्वास छ । साथै बिआरआईबारेका भ्रम चिर्दै कार्यान्वयनतर्फ लैजानु उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एन्ड डेभलपमेन्ट, मदन भण्डारी फाउन्डेसन र नेपाल-चाइना फ्रेन्डसिप फोरमले संयुक्तरूपमा आयोजना गरेको ‘एडभान्सिङ नेपाल-चाइना कोअपरेसन आफ्टर द प्राइमिनिस्टर्स भिजिट टु चाइना’ विषयक अन्तर्क्रियामा पूर्वपरराष्ट्रमन्त्री एवं गिरिजाप्रसाद कोइराला फाउन्डेसन अध्यक्ष सुजाता कोइरालाले बिआरआई सम्झौता दुवै देशको हितमा रहेकाले समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन् ।
उनले बिआरआई सम्झौताले नेपालको आर्थिक विकास, पूर्वाधार, शिक्षा, सञ्चारलगायत क्षेत्रमा सहयोग पुग्ने बताइन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले बिआरआई सम्झौता राष्ट्रिय पार्टीहरूको साझा सहमतिमा गरिएको बताउँदै यी परियोजनाको समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।
उनले बिआरआईमार्फत मुलुकको विकास र कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने धारणा व्यक्त गरे । नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनलेले बिआरआईलाई अनावश्यक प्रोपोगान्डाको रुपमा ल्याइन नहुने धारणा राखेका छन् ।
नेपालले अरु देशहरुसँग जसरी सहयोग आदानप्रदान गरेको छ सोहीअनुरुप लिइदिन उनले अनुरोध गरेका छन् । कार्यक्रममा सिचुवान विश्वविद्यालयका भाइस डीन हुयान युन्संघले बिआरआई क्षेत्रीय हित र प्रवर्द्धनलाई ध्यान दिई ल्याइएको बताए ।
बिआरआई परियोजनामार्फत गैरनाफामूलक लगानी गर्ने भनिएको छ । यो कार्यान्वयनपछि नेपालको जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने विज्ञहरुको अपेक्षा छ । नेपाल-चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा. कल्याणराज शर्माले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई मुलुकको सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।
नेपालको पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा चीनबाट नेपालले फाइदा लिनसक्ने भएकाले यसलाई उपयोग गरिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बर २ देखि ५ तारिखसम्म चीनको औपचारिक भ्रमणका दौरानमा ‘बिआरआई फ्रेमवर्क सम्झौता’ भएको थियो ।
चीनले आफ्नो विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शक सिद्धान्तका रुपमा बिआरआईलाई अघि बढाइरहेको छ । नेपालले सन् २०१४ मा परियोजनामा सैद्धान्तिक सहमति जनाएको थियो । सन् २०१७ मे २१ मा बिआरआईसम्बन्धी समझदारीपत्र (एमओयु)मा नेपालले हस्ताक्षर गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।