नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले आउँदो ४ जनवरीमा लन्डन ओटुमा दिने सांगीतिक प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको छ ।
कन्दरासँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै छन् । कन्दराले आफ्नो सांगीतिक यात्राको ३२औँ वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ ।
आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्तामाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन् ।
कार्यक्रममा स्वप्न सुमन र उनको ब्यान्डले ‘नढाक न मुहार शृङ्गारले’, ‘वाचा भयो,’ ‘जे छौ तिमी’ लगायत गीत प्रस्तुत गर्नेछन् । पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका ‘तिमी पारी’, ‘चन्चले कान्छी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ जस्ता गीत प्रस्तुत हुनेछन् । कन्दराले आत्मसात गरेको लोक पप धुन आजपर्यन्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन् ।
आयोजकले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत संगीत प्रवर्द्धनमा सरिक बन्न अनुरोध गरेको छ । जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ ।
कन्दराले हालसालै काठमाडौंमा ऐतिहासिक कन्सर्ट गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।