logo-img

वर्ष २०२४ खेलकुद : नेपालले के पायो, के गुमायो ? [भिडियोसहित]

कयौँ अभावका बीच वर्ष २०२४ मा पनि नेपाली खेलकुदले केही महत्वपूर्ण उपलब्धि हासिल गर्‍यो । यस वर्ष नेपालले खेलकुदमा हासिल गरेको सर्वाधिक ठूलो उपलब्धि हो, तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठले प्यारिस पाराओलम्पिक्समा कांस्य पदक जित्नु ।

महिलातर्फको ५७ केजी तौल समूहको कांस्यपदक जित्नेक्रममा उनले सर्वियाकी मारिजा मिसेवलाई पराजित गरिन् । 

नेपालले ओलिम्पिक्समा ५७ वर्ष तथा पारा–ओलिम्पिक्समा सहभागिता जनाउन थालेको १० वर्ष भइसकेको थियो । नेपालले पदक भने जित्न सकेको थिएन । तर, वर्ष २०२४ मा पेलशाले पदक खडेरी तोडिन् ।



योसँगै उनी ओलिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन् । र, उनले सरकारबाट प्राप्त गरिन्, ६५ लाख रुपैयाँ पुरस्कार ।  

क्रिकेटमा वर्ष २०२४ 



क्रिकेटमा नेपालका लागि वर्ष २०२४ ठिकै रह्यो । गत जुनमा अमेरिका र वेस्ट इण्डिजमा भएको टी–२० विश्वकपमा नेपालले खेल जित्न नसके पनि टेस्ट टिमहरूलाई कडा टक्कर दियो ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससँग खेल्ने तालिका थियो । उनीहरूमध्ये नेपालले श्रीलंकासँग मात्र वर्षाका कारण खेल्न पाएन । 



विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित हुँदा नेपाल इतिहास रच्न चुक्यो ।  यद्यपि नेपालले दक्षिण अफ्रिकाविरुद्ध खेलेको प्रदर्शनको भने चौतर्फी प्रशंसा भयो । साथै, अर्को टेस्ट टिम बंगलादेशविरुद्ध पनि नेपालले उत्कृष्ट बलिङ गर्‍यो । उक्त खेलमा नेपालले बंगलादेशलाई १ सय ६ रनमै समेट्यो ।

वर्ष २०२४ मा आइसिसी विश्वकप लिग–२ मा भने नेपालको प्रदर्शन निराशाजनक रह्यो । नेपालले यस वर्ष लिग–२ मा १२ मध्ये दुई खेलमा मात्र जित निकाल्यो ।  वर्ष २०२४ मा यू–१९ क्रिकेटमा भने नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्‍यो ।

वर्षको सुरुवातमै नेपालले यू–१९ पुरुष विश्वकपमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा स्थान बनायो । यस्तै, वर्षको अन्तिममा नेपालले यू–१९ एसिया कपमा पनि अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्यो । 

यस्तै, यू–१९ महिला टिमले पनि यस वर्ष सानदार प्रदर्शन गर्‍यो । गत नोभेम्बरमा भएको छनोट प्रतियोगिताको निर्णायक खेलमा आयोजक यूएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक यू–१९ विश्वकपमा स्थान बनायो । यति मात्र होइन नेपालले डिसेम्बरमा भएको यू–१९ एसिया कपमा पाकिस्तानजस्तो टेस्ट टिमलाई ६ विकेटले स्तब्ध पार्‍यो । 

उमेर समूहको महिला टिमले पछिल्लो समय लगातार प्रभावित पारिरहेको छ । यस्तै, वर्ष २०२४ मा क्रिकेटमा नेपालले हासिल गरेको अर्को उपलब्धि हो, हङकङ सुपर सिक्सेसमा सानदार प्रदर्शन गर्नु । उक्त प्रतियोगितामा नेपालले अस्ट्रेलियालाई ११ रन तथा इंग्ल्याण्डलाई ६ विकेटले हराउँदै सबैलाई चकित पार्‍यो । 

हङकङ सुपर सिक्सेसमा नेपाल आफ्नो डेब्यू सहभागितामै क्वार्टरफाइनलसम्मको यात्रा गर्न सफल भयो । त्यस्तै, नेपालले गत अक्टोबरमा अमेरिकाविरुद्धको तीन खेलको टी–२० सिरिज ३–० ले क्लिन स्विप गर्‍यो । योसँगै अमेरिकाविरुद्ध पहिलो टी–२० सिरिज जित्दै नेपालले इतिहास रच्यो ।  

यस्तै, नेपालले अप्रिलको अन्तिममा वेस्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज खेल्यो । जहाँ नेपाल दुई खेल जित्न सफल भयो । वेस्ट इण्डिज ‘ए’ नाम दिइए पनि टिममा महत्वपूर्ण खेलाडी थिए । 

नेपाल आएर क्रिकेट खेलेको वेस्ट इण्डिज अहिलेसम्मकै ठूलो टोली हो ।  यस्तै, वर्ष २०२४ को अन्तिममा क्रिकेटमा नेपाल प्रिमियर लिग (एनपिएल) ले राम्रो चर्चा पायो ।

पहिलोपटक भएको एनपिएलमा ८ टिमको सहभागिता रह्यो । जहाँ फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जित्यो । एनपिएलले नेपाली क्रिकेटप्रति समर्थकको थप क्रेज बढाएको छ ।   

वर्ष २०२४ : फुटबलमा निर्णायक खेलमा चुकेको नेपाल 

फुटबलमा वर्ष २०२४ मा नेपाल ऐतिहासिक उपलब्धि हासिल गर्न चुक्यो । महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुगे पनि नेपाल उपाधि जित्न चुकेको हो । फेब्रुअरीमा नेपाली महिला टिमले साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा गर्‍यो । फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा नेपाल उपाधि जित्न चुक्यो । 

यस्तै, सिनियर महिला टिम घरेलु मैदानमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदा उपाधि जित्ने नेपालको सपना फेरि अधुरै रह्यो । यद्यपि यसपटक नेपालले भारतलाई भने हरायो ।

महिला यू–१९ साफ २०२४ को सेमिफाइनलमा भने नेपालले भारतविरुद्ध ४–० को पराजय बेहोर्‍यो । यस्तै, वर्ष २०२४ मा यू–२० पुरुष साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपाधि जित्न चुक्यो ।

यही वर्षको सेप्टेम्बरमा भएको यू–१७ साफ सेमिफाइनलमा नेपालले भारतसँग ४–२ को हार बेहोर्‍यो । सिनियर पुरुष फुटबलले पनि वर्ष २०२४ मा ऐतिहासिक उपलब्धि हासिल गर्न सकेन । यद्यपि वर्षको अन्तिमतिर नेपालले अफगानिस्तानविरुद्ध भने २–० को सहज जित निकाल्यो । नेपालले अफगानिस्तानलाई ११ वर्षपछि हराएको हो । 

भलिबलतर्फ पनि वर्ष २०२४ मा नेपालले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेन । गत अगस्टमा भएको काभा महिला नेशन्स लिगको फाइनलमा भारतसँग पराजित हुँदा नेपाल फेरि उपाधि जित्न वञ्चित भयो ।

लिग चरणमा भने नेपालले भारतलाई हराउँदै इतिहास रचेको थियो । यस्तै, नेपालले यही वर्ष भएको काभा यू–२० महिला भलिबलमा कांस्य पदक जित्यो । त्यस्तै, अगस्टमा भुटानमा भएको बिच भलिबलमा नेपाली महिला टिमले स्वर्णपदक जित्दै इतिहास रच्यो । 

पुरुष भलिबल टिमले भने २०२४ मा पनि ऐतिहासिक उपलब्धि हासिल गर्न सकेन ।   

यसरी हेर्दा नेपालले वर्ष २०२४ मा सफलताभन्दा बढी असफलता प्राप्त गरेको देखियो । यसको कारण हुन्, सरकारले खेलकुदलाई प्राथमिकता नदिनु, भौतिक पूर्वाधार, स्तरीय प्रशिक्षण र खेलाडीलाई सेवासुविधा अभाव हुनुलगायत रहेका छन् ।

त्यसकारण आगामी दिनमा यदि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिफलको आशा राख्ने हो भने खेलाडीलाई सोहीअनुसारको सुविधा र प्रशिक्षणको व्यवस्था गर्न पनि आवश्यक छ । 

  • प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया