कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी पूरा भएको जानकारी दिएका हुन् ।
उनका अनुसार आगामी माघ २३ गतेदेखि सबै खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ । प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र केही स्थानीय तहहरुलाई मंसिर २३ देखि २६ गतेभित्र दुई समूहमा राखेर प्रदेशस्तरको अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको उनले बताए ।
खोप अधिकृत भण्डारीका अनुसार आगामी माघ ३ गतेभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत सबै वडा, स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई बोलाएर खोप केन्द्र निर्धारण गर्ने र प्रचारलाई तीव्र बनाउन बृहत् योजनासहित अभिमुखीकरण गरिनेछ । माघ ४ देखि १२ गतेभित्रमा प्रदेशका सबै स्थानीय तहमा अभिमुखीकरण सकेर वडा तहका स्वास्थ्यकर्मीलाई खोपका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।
आगामी माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीबीच अभिमुखीकरण गरिने र १५ देखि १८ गतेभित्रमा स्थानीय तह, वडा खोप समन्वय समिति र विद्यालय शिक्षक, स्वयंसेविकाहरू माझ अभिमुखीकरण कार्यक्रम तय भएको जनाइएको छ ।
माघ १० गतेभित्रमा सबै जिल्लामा खोप पुर्याइसक्ने खोप अधिकृत भण्डारीको भनाइ छ । हाल झापा, मोरङ, सुनसरी र धनकुटामा आवश्यक प्रचार सामग्रीहरू पुगिसकेको र बाँकी जिल्लामा तीन दिनभित्र पुर्याइने उनले बताए ।
खोपलाई प्रभावकारी बनाउन र समन्वय गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र र खोप साझेदार निकाय डब्लुएचओ वाटर हेडलगायतका टोली सहजीकरणका लागि जिल्लाहरूमा परिचालन गरिसकेको उनले बताए ।
‘प्रदेशमा खोपको कमी छैन’, उनले भने, ‘तर खोप सबै लक्षित किशोरीहरूमा पुर्याउन चुनौती छ । यसका राजनीतिक दल, सामाजिक क्षेत्र, स्थानीयवासी र सञ्चारकर्मीको सहयोगको अपेक्षा गरेका छौँ ।’
विद्यालयबाहिर रहेका किशोरीहरू अधिकांश पिछडिएका, गरिबीकाे चपेटामुनिका हुँदा उनीहरुको पहिचान गरी खोप केन्द्रसम्म ल्याउन स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।