१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप सन् २०२६ मा आयोजना हुँदैछ । भारत र श्रीलंका आयोजक रहेको उक्त विश्वकपमा पनि २० देशको सहभागिता रहनेछ । आउँदो विश्वकपका लागि १२ देशको टुंगो लागिसकेको छ ।
विश्वकप २०२६ मा अब ८ टिमका लागि स्थान खाली छ । उक्त स्थानका लागि एसिया र इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट तीन, अफ्रिका र युरोप क्वालिफायरबाट दुई/दुई तथा अमेरिका क्वालिफायरबाट एक टिम छनोट हुनेछ ।
नेपालले तेस्रोपटक विश्वकपको टिकट सुरक्षित गर्न एसिया र इस्ट एसिया प्यासिफिक क्वालिफायरमा ८ टिमसँग प्रतिस्पर्धा गर्नेछ । उक्त छनोट प्रतियोगितामा नेपालले यूएई, पपुवा न्यूगिनी (पिएनजी), ओमान, मलेसिया, कुवेत, कतार, सामोआ र जापानसँग खेल्ने भएको हो । प्रतियोगिता २०२५ को अक्टोबरमा ओमानमा आयोजना हुनेछ ।
तालिकाको शीर्ष तीनमा रहने टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । यदि नेपाल टप थ्रीभित्र पर्न सके तेस्रोपल्ट विश्वकप खेल्नेछ । छनोट प्रतियोगितामा नेपाल, यूएई र ओमान विश्वकपको टिकटका लागि प्रमुख दाबेदार छन् ।
यद्यपि टी–२० क्रिकेट अविश्वसनीय फर्म्याट हो । विगतमा पनि धेरैपटक कमजोर टिमले अप्रत्यासित नतिजा निकालेको उदाहरण छ । त्यसकारण नेपालले कुनै पनि टिमलाई कमजोर आँक्नु हुँदैन ।
यस्तै, विदेशी मैदानमा हुने महत्वपूर्ण प्रतियोगितामा नेपालको विगत प्रदर्शन सन्तोषजनक छैन । त्यसको उदाहरण हो, गत अप्रिलमा सम्पन्न एसिसी प्रिमियर कप ।
ओमानमै भएको त्यस प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चियो । जबकी नेपालले अघिल्लोपटक एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कपको यात्रा गरेको थियो ।
विश्वकपमा नेपालको सम्भावना कति ?
विश्वकप २०२६ मा नेपाललाई देख्न पाइने सम्भावना बलियो छ । यसपटक नेपालले खेल्ने छनोटबाट तीन टिमले विश्वकप खेल्न पाउने भएकाले पनि नेपालको सम्भावना बलियो रहेको हो ।
विश्वकप छनोटमा पुगेका सबै टिमविरुद्ध टी–२० मा नेपालको विगत प्रदर्शन पनि राम्रो छ । यद्यपि विपक्षी टिम पनि नेपालको कमजोरीबारे जानकार भइसकेका छन् ।
त्यसकारण नेपालले थप स्तरीय प्रशिक्षण पाउन आवश्यक छ । नेपालले घरेलुका साथै विदेशी मैदानमा पनि निरन्तर क्रिकेट खेल्नुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।