म्याग्दीको मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।
कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो ।
१३ किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताए ।
विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ ।
बागलुङको बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । १० किलोमिटर सडकमध्ये पहिलो चरणमा ६ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो ।
आगामी चैतसम्ममा ६ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । १० किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।