बैंक तथा वित्तीय संस्थाको नियन्त्रण तथा नियमनका लागि हरेक देशमा एउटा केन्द्रीय बैंक हुन्छ । नेपालमा पनि त्यस्तो बैंक छ, त्यो हो- नेपाल राष्ट्र बैंक । मुलुकका सबै बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको निर्देशनमा सञ्चालन हुन्छन् ।
राष्ट्र बैंकको स्वीकृतिबिना नेपालमा स्वदेशी तथा विदेशी बैंक सञ्चालनमा गर्न पाइँदैन । राष्ट्र बैंकले ऐन नियमविपरीत काम गरेमा काम कारबाही गर्ने अधिकार हुन्छ । यस्तै, सरकारको आर्थिक गतिविधि, मुद्रा व्यवस्थापनलगायत कार्य पनि राष्ट्र बैंककै क्षेत्राधिकार भित्र पर्दछ ।
विदेशी विनिमयको व्यवस्थापन गर्ने, खरिद गर्नेलगायत कार्य राष्ट्र बैंकको हो । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको सम्पत्ति कति छ ? कहाँ कसरी लगानी गर्छ ? धेरैको चासोको विषय बन्ने गरेको छ ।
कुन–कुन देशमा छ राष्ट्र बैंकको पैसा ?
नेपाली बैंकले विदेशी बैंकमा खाता खोलेर निक्षेप राख्ने गरेका छन् । सामान्यतया बैंकको काम भनेको निक्षेप संकलन गरी ऋण प्रवाह गर्नु हो । तर, नेपाल राष्ट्र बैंकदेखि विभिन्न बैंकले विदेशी बैंकमा पैसा राखेका हुन्छन् ।
नेपालका बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब बराबरको रकम विदेशी बैंकमा राखेका छन् । यसमा वाणिज्य बैंकको मात्र २९ अर्ब २ करोड ६० लाख रुपैयाँ विदेशी बैंकमा रहेको छ ।
विदेशी बैंकमा पैसा राख्नेमा ‘क’ वर्गका २० वटा वाणिज्य बैंक रहेका छन् भने ‘ख’ वर्गको विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्टले मात्रै विदेशी बैंकमा पैसा राखेका छन् । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकले ४६ अर्ब ४६ करोड ३० लाख रुपैयाँ विदेशी बैंकमा राखेका थिए । पछिल्लो समयमा नेपाली बैंकले विदेशी बैंकमा नगद राख्नेक्रम घटेको छ ।
वाणिज्य बैंकहरूले जस्तै बैंकहरूको अभिभावक ‘नेपाल राष्ट्र बैंक’ ले पनि विदेशका निजी तथा सरकारी बैंकमा पैसा राख्ने गरेको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक राजेन्द्र भट्टराईका अनुसार, भारतदेखि अमेरिकासम्मको ९ वटा बैंकमा राष्ट्र बैंकले पैसा राखेको छ ।
मुलुकले विभिन्न स्रोतबाट कमाएको विदेशी मुद्रा र सुनलाई लगानी गरेर राष्ट्र बैंकले आम्दानी गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रालाई विभिन्न देशका बैंकमा बचत, त्यहाँको सरकारी ऋणपत्र र ट्रेजरी बिल्सलगायतमा लगानी गरी आम्दानी गर्छ । निर्यात, रेमिट्यान्स, वैदेशिक सहायता, वैदेशिक लगानी, पर्यटनका माध्यमबाट विदेशी मुद्रा देशमा भित्रिन्छ । उक्त विदेशी मुद्रा राष्ट्र बैंकमा जम्मा हुने गरेको विभागका निर्देशक भट्टराई बताउँछन् ।
उनका अनुसार, राष्ट्र बैंकले सो बराबरको नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्छ । उक्त विदेशी मुद्रालाई राष्ट्र बैंकले अन्य देशमा लगानी गर्न पाउँछ । पैसा मात्रै होइन, जम्मा भएको सुनलाई पनि बचतसरह विदेशी बैंकमा जम्मा गरेर ब्याज पाइन्छ । विभागका अनुसार गत वर्षको कुल लगानीमध्ये ७५ प्रतिशत अमेरिकी डलरमा राखिएको छ । यस्तै, भारतीय मुद्रामा भएको लगानी २० प्रतिशत छ । यसैगरी ८ दशमलव ८ प्रतिशत रकम चीनमा लगानी गरिएको छ भने एसडिआर (स्पेशल ड्रइङ राइट) मा १० प्रतिशत, सुनमा ३ प्रतिशत छ ।
राष्ट्र बैंकले सबैभन्दा धेरै भारतमा लगानी गरिएको ट्रेजरी बिल्सबाट ब्याज पाउँछ । ट्रेजरी बिल्स भनेको सरकारले बैंकका माध्यमबाट ऋण उठाउने माध्यम हो । अमेरिकी डलरमा हुँदै आएको लगानी, पाउन्ड स्टर्लिङ, क्यानेडियन डलर, अस्ट्रेलियन डलर, युरोबाट छुट्टाछुट्टै ब्याज पाउँछ ।
यसरी विदेशी विनियम सञ्चितिबाट हुने आम्दानी राष्ट्र बैंकको मुख्य कमाइको स्रोत भएको उनी बताउँछन् । यसबाहेक देशभित्र ट्रेजरी बिल्स लगायतबाट पनि आम्दानी हुने गरेको छ । आम्दानी र खर्च कटाएर आउने खुद नाफाको करिब ८० प्रतिशत रकम सरकारको खातामा लाभांशका रूपमा जान्छ भने बाँकी २० प्रतिशतमध्ये आधा रकम मौद्रिक कोषमा जम्मा गरिने विभागले जनाएको छ । बाँकी १० मध्ये करिब ७ प्रतिशत कर्मचारी कल्याणकारी कोषमा जम्मा हुन्छ । यसबाट राष्ट्र बैंकका कर्मचारीले विभिन्न सुविधा पाउँछन् । बाँकी ३ प्रतिशत रकम पनि पुनर्कर्जालगायत अन्य कोषमा जम्मा गरिन्छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री राष्ट्र बैंकको आम्दानीको श्रोत नै विभिन्न देशको बैंकमा पैसा लगानी लगाउनु रहेको बताउँछन् । ‘राष्ट्र बैंकले आफ्नो पैसा लगानी गरेको हुन्छ,’ उनी भन्छन्, ‘जहाँ भनेको बेला निकाल्न पाइने र तुलनात्मकरूपमा धेरै ब्याज पाइने बैंकमा लगानी गरेको हुन्छ । नेपालीले पठाएको विदेशी मुद्रामा नेपाली पैसा लिन्छन् । त्यो पैसा विभिन्न बैंकमार्फत् राष्ट्र बैंकमा जान्छ । त्यो रकम राष्ट्र बैंकले लगानी गर्छ ।’
पूर्वगभर्नर क्षेत्रीका अनुसार बैंकहरूले निक्षेप उठाएर स्वदेशमै कर्जा प्रवाहमा जोड दिने र बाँकी रहेको रकममात्र विदेशी बैंकमा राख्ने गरेका हुन्छन् । आयातका लागि एलसी (प्रतीतपत्र) खोलिने भएकाले त्यसको सेटलमेन्ट (भुक्तानी) को लागि विदेशी बैंकमा पैसा राख्ने गरिएको हुन्छ । विदेशी मुलुकहरूमा पैसा राख्दा ब्याज बढि पाइन्छ । त्यसमा पनि दिल्ली र चीनको बैंकमा राखिएको पैसाको बढी ब्याज पाइने उनी बताउँछन् । हाल औद्योगिक राष्ट्रहरू बेलायत, जर्मनी, अमेरिका, चीन, भारतमा राष्ट्र बैंकले पैसा राखेका छन् ।
भट्टराईका अनुसार, एलसी सेटलमेन्ट र राम्रो ब्याज आम्दानी हुने कारण नेपाली बैंकहरूले विदेशी बैंकमा पैसा जम्मा गर्ने गरेका छन् । ‘रेमिट्यान्स बढेको र तरलता बढी भएको बेला विदेशी बैंकमा जम्मा गर्ने रकम पनि बढ्ने गरेको छ,’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘नेपालमा तरलता अभाव भएको बेला विदेशी मुद्रालाई नेपाली बनाएर नेपालीलाई नै ऋण दिँदा फाइदा हुन्थ्यो । तरलता बढी भएपछि कि राष्ट्र बैंकमा राख्नुपर्यो कि त विदेशी बैंकमा राख्नुपर्यो । बैंकहरू आफैंले राख्दा घाटा हुने हुनाले पनि उनीहरूले विदेशी बैंकहरू राख्ने गरेका छन् ।’
सुन किन्दा तथा सरकारले तिर्नुपर्ने ऋण पनि त्यसैबाट तिर्ने गरिन्छ । राष्ट्र बैंकले विदेशमा पैसा राख्नु भनेको व्यक्तिले कति पैसा कुन बैंकमा राख्ने भने जस्तै भएको उनी बताउँछन् । पूर्वगभर्नर क्षेत्रीका अनुसार उनीहरूका रेटिङ हेरेर खोट नभएका बैंकमा निक्षेप राखिन्छ । राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेपबाट प्राप्त गर्ने ब्याज भने उक्त देशमा ब्याजदर घट्दा कमी आउन पनि सक्छ । कोरोनाको समयमा विश्व बजारमा ब्याजदर ओरालो लाग्दा राष्ट्र बैंक र सरकार दुवैले केही घाटा बेहोर्नुपरेको थियो । कोरोनाको असर सबै देशमा परेकाले केन्द्रीय बैंकले गरेको लगानीबाट हुने ब्याज आम्दानी घटेको थियो ।
‘ब्याज आम्दानीको ठूलो अंश स्वदेशमा गरेको ट्रेजरी बिल्स, बोन्डलगायत सेक्युरिटीको लगानीबाट भन्दा अन्तर्राष्ट्रिय वित्तीय संस्थामा विदेशी विनिमय सञ्चितिमा रहेको विदेशी मुद्रा तथा सेक्युरिटीबाट बढी प्राप्त हुन्छ,’ उनी भन्छन् । यदि ब्याज आम्दानी घट्ने हो भने नेपाल राष्ट्र बैंकको वार्षिक नाफासमेत प्रभावित हुन्छ र नेपाल सरकारलाई दिने रकम पनि घट्न सक्छ ।
राष्ट्र बैंकको लगानी कुन संस्थामा कति ?
राष्ट्र बैंकले विदेशी बैंकमा खाता खोलेर निक्षेप राख्ने मात्र होइन, विभिन्न क्षेत्रमा लगानी पनि गरेको हुन्छ । तर, नेपाल राष्ट्र बैंकले जुनसुकै संस्थामा लगानी गर्न भने पाउँदैन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ (२) मा राष्ट्र बैंकले आफ्नो काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम गर्ने संस्थालाई कुल पुँजीको १० प्रतिशतसम्म मात्रै ऋण तथा शेयर लगानी गर्न पाउने व्यवस्था छ ।
ऐनमै लगानी गर्न पाउने संस्था र लगानीको सीमासम्बन्धी प्रष्ट व्यवस्था गरिएको छ । राष्ट्र बैंक ऐन, २०५८ अनुसार वाणिज्य बैंक वा वित्तीय संस्थाको धितो मूल्यांकन, सञ्चालन र संरक्षण गर्ने, धितो पुनर्संरचना गर्ने र हस्तान्तरण गर्ने, साख मूल्यांकन गर्ने, वित्तीय उपकरण मुद्रण गर्ने, भुक्तानीको क्लियरिङ गर्ने, सम्पत्तिलाई तरल बनाउने, बैंक नोट वा सिक्का उत्पादन गर्ने, ट्रष्टिको रूपमा काम गर्नेजस्ता बैंकले तोकेका संस्थामा मात्रै लगानी गर्न पाउँछ । कुनै एक कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पूँजी छ भने त्यस कम्पनीलाई राष्ट्र बैंकले बढीमा १० करोडसम्म मात्र ऋण दिन पाउँछ ।
नेपाल राष्ट्र बैंकले हाल ८ संस्थामा लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले कृषि आयोजना सेवा केन्द्र प्रालिमा ६२.५ प्रतिशत लगानी गरेको छ । उक्त संस्थामा राष्ट्र बैंकले सुरुवातमा ५० लाख रुपैयाँ लगानी गरेको थियो । यस संस्थामा पनि राष्ट्र बैंकको कति सेयर स्वामित्व छ भन्ने कुरा खुलाइएको छैन ।
यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा ५५.५६ प्रतिशत लगानी गरेको छ । संस्थानका कुल सेयरमध्ये १ लाख ५ हजार ६६७ कित्ता सेयर राष्ट्र बैंकको स्वामित्वमा रहेको छ । बिमा संस्थानमा आव २०८०/८१ मा हेर्दा राष्ट्र बैंकको सुरुवाती लगानी १ करोड रुपैयाँ रहेको छ । उक्त कम्पनीमा राष्ट्र बैंकको हालको सेयरको मूल्य ३८ करोड रुपैयाँभन्दा माथि रहेको छ ।
त्यस्तै, राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा पनि ९.५१ प्रतिशत लगानी गरेको छ । नेपाल स्टक एक्सचेन्जमा रहेको लगानी प्रतिशतलाई कम गर्दै लगेको छ । २०७८/७९ मा सो संस्थामा राष्ट्र बैंकको लगानी १४.५९ प्रतिशत थियो । २०८०/८१ मा त्यसलाई घटाएर ९.५१ प्रतिशत बनाइएको छ । उक्त संस्थामा राष्ट्र बैंकले सुरुवातमा ३३ लाख २१ हजार रुपैयाँ लगानी गरेको थियो । राष्ट्र बैंकको हालको सेयरको मूल्य ५८ करोड रुपैयाँभन्दा माथि रहेको छ ।
यस्तै, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेडमा कुल पुँजीको ३१.५२ प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँ सुरुवाती लगानी यस संस्थामा गरिएको छ । तर, उक्त संस्थामा राष्ट्र बैंकको के कति सेयर स्वामित्व छ भन्ने कुरा भने छैन ।
यस्तै, निक्षेप र क्रेडिट ग्यारेन्टी कोषमा नेपाल राष्ट्र बैंकले १० प्रतिशत लगानी गरेको छ । राष्ट्र बैंकका अनुसार ६० करोड ७५ लाख रुपैयाँभन्दा बढी सुरुवाती लगानी यस संस्थामा गरिएको छ । उक्त कम्पनीमा राष्ट्र बैंकको हालको सेयरको मूल्य २ अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।
यस्तै, राष्ट्र बैंकको नेपाल क्लियरिङ हाउस लिमिटेडमा ९.४५ प्रतिशत अर्थात् १० लाख ६ हजार ६३७ कित्ता सेयर स्वामित्व छ । सुरुवातमा राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँ यस कम्पनीमा लगानी गरेको भए पनि अहिले लगानी वृद्धि भएर २४ करोड ११ लाख भन्दा बढी पुगेको छ ।
यस्तै, क्रेडिट जानकारी ब्यूरोमा नेपाल राष्ट्र बैंकको ९.५ लगानी रहेको छ । सुरुवातमा राष्ट्र बैंकले ३३ लाख ५० हजार रुपैयाँ यस कम्पनीमा लगानी गरेको भए पनि अहिले लगानी वृद्धि भएर २४ करोड ४० लाखभन्दा बढी पुगेको छ ।
त्यस्तै, राष्ट्रिय बैंकिङ संस्थानमा पनि राष्ट्र बैंकको ९.५ प्रतिशत अर्थात् १ लाख ७ हजार ६३१ कित्ता सेयरको स्वामित्व छ । २०७८/७९ मा उक्त संस्थामा नेपाल राष्ट्र बैंकको लगानी १५.२९ प्रतिशत थियो । आर्थिक वर्ष २००/८१ मा राष्ट्र बैंकले उक्त लगानीलाई कम गर्दै ९.५० प्रतिशत मात्रै लगानी गरेको छ ।
सुरुवातमा राष्ट्र बैंकले ४७ लाख ५० हजार १५० रुपैयाँ यस कम्पनीमा लगानी गरेको भए पनि अहिले लगानी वृद्धि भएर २ करोड रुपैयाँ माथि पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।