नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरू सिद्धान्तहिन बन्दै गइरहेको बताएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै ठूला दल गन्तव्यहीन, आर्दशहीन बाटोतर्फ गइरहेको बताएका हुन् ।
‘ठूला भनिएका दलहरू सिद्धान्तहीन, गन्तव्यहीन र आर्दशहीन बाटोमा लागेका छन् । जसरी जोसँग भएर मिलेर पनि पद, हत्याउने होडबाजी चलिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीति अत्यन्त फितलो र लज्जास्पद बनाइएको छ,’ रावलले भने ।
उनले असमान सन्धिसम्झौताको भारी निरन्तर बढ्दै गइरहेको बताए । उनले राष्ट्रिय सम्पति र सीमा धेरै नै असुरक्षित बनिरहेको पनि बताए ।
उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाए । उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए ।
उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए ।
‘सत्तामा हालिमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन्,’ रावलले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।