logo-img

नेपालमा कति छन् होटल-रेस्टुराँ ? कतिले पाएका छन् रोजगारी ?
फाइल तस्बिर

नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० को प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा २० हजार एक सय ५८ र सुदूरपश्चिममा आठ हजार दुई सय २८ छ ।

अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको छ । यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको सङ्ख्या हो ।



यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको सङ्ख्या १ लाख ६ हजार ४ सय ५९ छ । होटल तथा रेष्टुरेण्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब रु तीन खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ । 



अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।

यस्ता प्रतिष्ठानमध्ये करिब २८ दशमलव चार प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१ दशमलव छ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ । 



कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैर तारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो ।

होटलमा रहेको कोठाको सङ्ख्या एक लाख १६ हजार एक सय रहेको छ । जसमध्ये स्टार होटलमा आठ हजार चार सय ९६ कोठा, गैर तारे होटल तथा लजमा १ लाख ७५, रिसोर्टमा तीन हजार आठ सय २९ र होमस्टेमा तीन हजार सात सय कोठा रहेको यो अध्ययनले देखाएको छ । 

हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार आठ सय ५२ जनालाई सेवा दिनसक्ने पनि अध्ययनमा उल्लेख छ । रासस 

  • प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया