logo-img

रङ खुइलिएर एमाले त बामाले भयो- रावल
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीमाथि रावल आक्रामक, देलान् ओलीले जवाफ ?

अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासित गरेको एक सातामै डा.भीम रावलले बुधबार (आज) पत्रकार सम्मेलनमार्फत अबको आफ्नो बाटोबारे संकेत त गरे नै साथै एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीमाथि ६ दर्जनभन्दा बढी प्रश्नको क्षेप्यास्त्र नै प्रहार गरे ।

पुसको यो चिसोमा रावलले सार्वजनिक रुपमा ओलीलाई सोधेको प्रश्न केही पार्टीसँग जोडिएको छ भने केही प्रश्न भ्रष्टाचारसँग पनि गाँसिएको छ । उक्त प्रश्नमार्फत अब रावलको राजनीतिक यात्रा कतातिर मोडिएला भन्ने धेरैको जिज्ञासाले पनि जवाफ पाएको छ । ओलीमाथि स्पष्टीकरणको अन्दाजमा ७४ वटा प्रश्न सोधेर रावलले अबको आफ्नो बाटो एमालेविरुद्ध हुने जनाउ पनि दिएका छन् ।

रावलले आज सम्भवतः नयाँ पार्टीमार्फत आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाउँछन् भन्ने धेरैको आंकलन थियो । तर, पत्रकार सम्मेलनमा रावलले नयाँ पार्टीबारे चुइँक्कसम्म गरेनन् । तर निकट दिनमा नयाँ पार्टी गठनको संकेत भने गरे । उनले राजनीतिक नारा नै दिएका छन्- राष्ट्रिय स्वाधीनता,स्वाभिमान र समृद्धिको झण्डा उठाऔँ । मनपरीतन्त्र,कुशासन,भ्रष्टाचार र विकृतिका विरुद्ध जुटौँ ।’

आफ्नो अभियानलाई मातृभूमि जागरणको नाम दिएका रावलले नयाँ दल खोल्न आफू डराएको नभई तत्काल अभियानको आवश्यकता रहेको उनले बताएका छन् । ‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्या समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ,’ रावलले सबैलाई सुनाए ।



गैरवामपन्थी एवं राष्ट्रवादी धारको नयाँ दलको गृहकार्य थालेका रावलले पत्रकार सम्मेलनमा त्यसबारे प्रस्ट धारणा राखेनन्,पूर्वदेखि पश्चिमसम्म जागरण अभियान सुरु गर्ने जानकारी दिए । तर आज ३१ पृष्ठ लामो लिखित वक्तव्य पढ्दा रावलले आफ्नो अबको बाटोतिरभन्दा पनि ओलीप्रतिको कुण्ठा अभिव्यक्त गर्नमै समय खर्चिए ।

पूर्वउप-प्रधानमन्त्री, रक्षा र गृहमन्त्रीको जिम्मेवार सम्हालिसकेको एमालेका पूर्वनेता रावलले कार्यक्रम सुरु हुँदादेखि अन्तिमसम्म ओलीमाथि प्रश्नैप्रश्नको वर्षा गरिरहे । उनी यतिमै रोकिएनन्, उनले आफूमाथि पार्टी अध्यक्ष ओलीले कुन हदसम्म ‘स्वेच्छाचारी,निरंकुश र तानाशाही’ व्यवहार गरेको भन्दै घटना विवरणहरूको फेहरिस्त नै पेस गरे ।



रावलले ओली प्रधानमन्त्री भएकै बेला तीन महिनाको अन्तरालमा प्रतिनिधिसभा दुई-दुई पटक विघटन गरेको घटनाबाट पनि उनको क्रियाकलाप स्वेच्छाचारी र निरंकुश रहेको पुष्टि भएको जिकिर गरेका छन् । ओलीले २०७७ पुस र २०७८ वैशाखमा संसद विघटन गरेका थिए ।



प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले संविधान विपरीत भएको ठहर गर्दै सरकार पुर्नवहाली गरेको विषयमा ओलीले पटक-पटक ‘परमादेशी सरकार’ भन्दै कटाक्ष गरेबाटै ओली कुन हदसम्म गिर्न सक्छन् भन्ने छर्लङ्ग भएको बताए । तर,तीनै केपी शर्मा ओलीले कोशी प्रदेशमा अदालतमा मुद्दा दायर गर्दै परमादेशको आधारमा सरकार गठन गर्न किन लगाएको ?’ रावलको प्रश्न थियो ।

आज निकै आक्रोशित सुनिएका रावलले ओलीको कार्यशैलीमाथि पनि कटाक्ष गर्न भ्याए । उनले उचो स्वरमा सुनाए-ओलीका भनाइ र गराइमा कति फरक छ,विधि,पद्धति अनुशासन र जिम्मेवारीका कुरामा ओलीका फोस्रो गफबाहेक केही होइन ।

रावलले केपी ओलीलाई प्रश्न गर्दा अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीको प्रसङ्ग पनि अघि सारे । ओलीकै निर्देशन र संरक्षणमा अख्तियारले उनीहरूमाथि मुद्दा नचलाएको भन्दै ओलीलाई भ्रष्टचारीका ‘बा’ भएको प्रष्ट सुनाए  ।

उनले ओलीलाई सुनाए,‘ललिता निवासको जग्गा अवैधरूपमा लिएका पार्टीका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले फिर्ता गर्छु भनेको भन्दै अख्तियारले मुद्दा नचलाएको तपाईं (केपी शर्मा ओली)कै निर्देशनमा भएको होइन र ?,’ रावलले भने, ‘कसैले चोरेको सामान फिर्ता गर्छु भन्दैमा चोरीमा कारबाही नहुने कानुन छ र ?’

नेता रावलले आफूले पार्टी छाडेको भनेर प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए । एमाले महासचिव शंकर पोखरेलले आफूलाई पार्टी छाडेको भनेर भ्रम छरेको उनको भनाइ छ । रावलले भनेका छन्, ‘यही पुस १० गते सचिवालयको बैठकबाट मलाई पार्टी सदस्यबाट निष्कासित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले सञ्चारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले, ‘भीम रावललाई हामीले निकालेका होइनौँ आफैँ छोडेर गएको हो’ भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ?’

रावलले आफूलाई ओली गुटले पार्टीबाट निष्कासन गरेको आरोप लगाए । ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसेपछि आफू विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ । ‘मलाई एमालेले होइन, केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसिदियो,’ उनले भने, ‘सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएँ ।’

याे पनि...

केपी ओलीमाथि भीम रावलले लगाएका ७४ आरोपभित्र के-के छन् ?

एमालेले गलहत्याएपछि भीम रावलले खोजेको ‘नयाँ बाटो’

नेता रावलले आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको पनि आरोप लगाए । चितवनमा सम्पन्न दशाैँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकाले आफूमाथि कारबाही भएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

एमालेबाट अपमानपूर्वक बाहिरको बाटो देखाएपछि रावलले आज सबैले सुन्नेगरि निष्कर्ष सुनाए-आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा (एमाले) लाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ । एमालेको रङ खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ ।

के ओलीले अब आफूमाथि लागेका यी गम्भीर आरोपहरूको जवाफ देलान् ?

 

  • प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया