संघीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा समितिको बैठक बस्दैछ ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
सबै समितिको बैठक बिहान ११ देखि दिउँसो ३ बजेको बीचमा सिंहदरबारमा बस्ने तालिका छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची रहेको छ ।
पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।