राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले आफूलाई पार्टीबाट कारबाही गरेर सभापतिमाथि नै प्रहार गरेको उल्लेख गरेका हुन् ।
‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे, म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टी बाहिरबाट खेले । पार्टीभित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भनेको थिए । तर, त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बारबार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारबाही गर्नु भयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिकरूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसैअनुसार प्रतिक्रियात्मक हुन पुगे,’ ढकालले लेखेका छन् ।
यस्तै, उनले पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको बताएका छन् ।
‘पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् । अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ । तर, म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुञ्जेल धेरै ढिलो भइसकेको नहोस्,’ ढकालले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।