न्यूजिल्याण्डपविरुद्धको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा श्रीलंका ७ रनले विजयी भएको छ । यो जितपछि श्रीलंका ‘क्लिन स्विप’ बाट जोगियो । ऊ पहिलो र दोस्रो खेलमा पराजित भएको थियो ।
एक खेलअगावै सिरिज जितेको न्यूजिल्याण्डले अन्तिम खेलमा श्रीलंकाले दिएको २ सय १९ रनको लक्ष्य पछ्याउनेक्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन बनायो ।
उसका लागि रचिन रवीन्द्रले ६१ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ६९ रन बनाए । यस्तै, टिम रोबिन्सनले ३७ र डारियल मिचेलले ३५ रन जोडे । ज्याकरी फाउल्केस २१ र कप्तान मिचेल सान्टनर १४ रनमा अविजित रहे ।
श्रीलंकाका लागि कप्तान चरित असालान्काले तीन र वानिन्दु हसरंगाले दुई विकेट लिए । त्यसअघि स्याक्सटन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो ।
उसका लागि कुशल परेराले विस्फोटक शतकीय पारी खेले । उनले ४६ बलमा १३ चौका र चार छक्कासहित १ सय १ रनको पारी खेलेका हुन् ।
टी–२० आईमा कुशलको यो पहिलो शतक हो । यस्तै, कप्तान चरिथ अशलंकाले ४६, कुशल मेन्डिसले २२ तथा पथुम निशांकाले १४ रन जोडे । न्यूजिल्याण्डका लागि म्याट हेनरीसहित पाँच बलरले एक/एक विकेट लिए ।
टी–२० पछि श्रीलंका र न्यूजिल्याण्डले तीन खेलकै एकदिवसीय सिरिज पनि खेल्ने तालिका छ । एकदिवसीय सिरिज आइतबारदेखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।