logo-img

नेपालले ‘लोन ल्याण्ड’ गर्ने प्रणाली बनाउनुपर्छ : प्रवेश रिजाल [अन्तर्वार्ता]

विराटनगरका प्रवेश रिजाल अमेरिकाको न्युयोर्कका व्यस्त बैंकर्स हुन् । सिटी ग्रुपबाट अमेरिकी बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी हाल न्यूयोर्क सिटीस्थित क्रस रिभर बैंकमा क्वान्टिटेटिभ स्ट्राटेजिजका प्रमुखको रूपमा कार्यरत छन् । उनले सिटीग्रुपमा वरिष्ठ उपाध्यक्ष र पीएनसीमा उपाध्यक्ष जस्ता उच्च पदहरूमा कार्य गर्दै क्रेडिट र फिक्स्ड–इनकम डेरिभेटिभ्समा विशेषज्ञता हासिल गरेका छन् ।

रिजालले अस्ट्रेलियाबाट सुरु गरेको बैंकिङ करियर युरोप हुँदै वाल स्ट्रिटमा आफ्नो पहिचान स्थापित गरिसकेका छन् । उनी क्रस रिभर जानुअघि म्यासाचूसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा अप्रिल २०२२ देखि ब्लकचेन विषयका विशेषज्ञका रूपमा काम गरेका थिए ।

न्यूयोर्क विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका रिजालले विकासोन्मुख अर्थतन्त्रहरूलाई परिवर्तन गर्न वित्तीय क्षेत्रको सम्भावनाको उपयोगबारे वकालत गर्नुका साथै विशेषगरी, नेपालजस्तो देशमा अन्तर्राष्ट्रिय वित्तीय लगानी र प्रविधि हस्तान्तरणको महत्त्वलाई बारम्बार जोड दिँदै आएका छन् । प्रस्तुत छ, नेपाल न्यूज बैंकले रिजालसँग गरिएको कुराकानी :  

क्रेडिट रेटिङ एजेन्सी ‘फिच’ ले हालै नेपाललाई ‘बीबी माइनस रेटिङ’ दिएको छ । यसलाई कसरी लिनुहुन्छ ? अन्तर्राष्ट्रिय लगानी भित्र्याउन यसले कस्तो असर गर्ला ? 



क्रेडिट रेटिङ खास गरेर क्रेडिट लिनको लागि हो । ऋण लिनको लागि हो । हामीले  अहिले नेपालको मिक्स हेर्यौँ भने सहुलियत ऋण धेरै नै मिल्नसक्छ । नेपालले ऋणमा रिक्स नै लिएको छ । क्रेडिट रेटिङ चाहिँ राम्रो अभ्यास हो । तर, नेपालले क्रेडिट रेटिङमा जानको लागि कसरी लगानी गर्ने त्यो सोच्ने समय आएको छ । एउटा त रेटिङको कुरा भयो । रेटिङ लिएर विश्व ऋण बजारमा के गर्ने त्यसमा निश्चित हुनुपर्ने भएको छ । 

तपाईंले नेपालको बैंकिङ प्रणालीलाई पनि नजिकबाट हेरिरहनुभएको छ । अन्तर्राष्ट्रिय दृष्टिकोणबाट हेर्दा नेपालको बैंकिङ प्रणाली कुन स्तरमा छ ?  कुन क्षेत्रमा सुधार गर्नुपर्छ जस्तो लाग्छ ? 



नेपालमै बसेर काम गरेको त छैन । तर, नेपालको बैंकिङ क्षेत्रबारे अनुसन्धान गरेको १२ वर्ष भयो । नेपालमा व्यावसायिक तथा विकास बैंकहरूमा मिश्रित बैंकिङ प्रणाली छ । नेपालको बैकिङ प्रणालीमा क्रेडिट धेरै नै छ । मलाई खट्किएको विषय भनेको चाहिँ नेपालको बैंक मध्यस्थकर्ता नभएर बैंकिङ हट्स्पटका रूपमा काम भइरहेको छ । नेपालको बैंकले ऋण तथा कर्जा प्रवाह गर्ने कुरामा आफ्नो ब्यालेन्स सिटबाट दिन मिल्छ या त क्यापिटल मार्केटबाट लोन ल्याण्ड गर्न मिल्छ । नेपालमा लोन ल्याण्ड गर्ने प्रणाली नै छैन । यसलाई ब्यालेन्ससिट गरेर राख्नुपर्छ । बैंकको लोन बुक प्रयोग गरेर फरक किसिमको रिस्क म्यानेज गर्न मिल्छ कि मिल्दैन भनेर क्लियर गर्नुपर्छ ।  



कोभिडले विश्वको अर्थतन्त्रलाई लामो समयसम्मलाई असर पार्‍यो । नेपालको सन्दर्भमा यसलाई कुनरूपमा हेर्नुभएको छ ? 

कोभिडले विश्वमा परेको आर्थिक क्षतिको समय फरक फरक भएर आएको छ । यस हिसाबले अमेरिका, क्यानडा, युरोपेली मुलुकहरू र जापानले अर्थतन्त्रमा मुद्रा प्रवाह गरेका  थिए  । त्यो समयमा उपभोक्ता क्षेत्र खस्किएको थिएन । अहिले आएर हामीले के प्रभाव देख्दैछौँ भने महंगी बढ्यो, युद्धहरू सुरु भए । त्यसले अझ मुद्रास्फिति (इन्फ्लेशन) लाई थप्यो । यि सबै कुराले गर्दा अघिल्लो वर्ष २०२३ देखि २०२४ सम्म नै विश्वभर नै कन्ज्यूमर क्षेत्र कमजोर भएको देखिएको छ । तर अब त्यो माथि जाँदैछ । यो हाम्रो लागि अवसर हो । सबैभन्दा दुःखको समय गइसक्यो । अब राम्रो समय आउला । २०२५/२६ विश्वभरको कन्ज्यूमर क्षेत्रको लागि राम्रो समय हो र विश्वभर नै अर्थतन्त्र सुधार हुँदा नेपाल पनि त्यसमा सहभागी हुन्छजस्तो लाग्छ । 

अब नेपालमा के–के सुधार गर्नुपर्छ  जस्तो देख्नुहुन्छ र के सुझाव दिनुहुन्छ ? 

बैंकिङ क्षेत्रको सामाजिक खर्च क्रेडिटमा हेर्दा जोखिमलाई हेर्नुपर्छ । जोखिममा नन पर्फमिङ लोन (एनपीएल), (नन पर्फमिङ  एसेट पनि भनिन्छ)  त्यो कति छ त बैंकिङ क्षेत्रमा भन्ने वास्तविक मूल्यांकन हुनुपर्यो । र यसलाई व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ । हामीसँग धेरैवटा केशहरू छन् । अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि अमेरिकामा नै २००८/०९ को आर्थिक संकटलाई  हेर्ने हो भने यति विकराल रुप लियो कि त्यो खालको बैंकिङ क्षेत्रको प्रभावले पूरै अर्थतन्त्र नै धराशायी बनाइदियो  । यसलाई राम्रो तरिकाले हेर्नुपर्छ । यसलाई कहाँ लगेर जोड्छु भने आजका दिनसम्म पनि बैंकहरुले अन ब्यालेन्ससिट ल्याण्डिङ गरिरहेका छन् । इच्छाले होइन, दैनिक कामले गर्दा हो । दैनिक फ्रेमवर्क कहाँ आउनुपर्‍यो भने भोलिका दिनमा बैंकको ब्यालेन्ससिट एकदमै धेरै खराब हुँदा कसरी व्यवस्थापन गर्न सकिन्छ । बैंकको ‘​लोनेबल फन्ड’ फ्लोट गर्न पाइन्छ बजारमा, एसेट व्यवस्थापन कर्पोरेसनको अवधारणा लिएर आउनुपर्छ कि भन्ने कुरा बुझ्नुपर्छ । त्यस्तो फन्डहरू लिएर आउनुपर्छ कि जसले यो जोखिमलाई धानेर बस्न सक्छ । बैंकले लामो समयसम्म जोखिम उठाएर बस्ने होइन । त्यसकारण यो ठाउँमा नेपालले काम गर्नुपर्छ । बैंकिङ क्षेत्रभन्दा पनि नियामक निकायहरूले पनि त्यो अवस्था बनाइदिनुपर्‍यो । सरकारी नियामक संरचनाहरूले सोच्नुपर्छ । यसपछि बजार आफैं बन्छ । त्यो मेरो एउटा सुझाव छ  ।  

नेपालमा लगानी भित्र्याउने सवालमा वित्तीय प्रणालीमा सुधार गर्नुपर्ने केही कुरा छ ?

हामीले लगानी सम्मेलनहरू गर्छौ । एकदमै लगानीलाई आकर्षण गर्ने प्रयास गर्छौँ । तर, जहिले पनि बाहिर गएर यो मेरो प्रोजेक्ट यति लगानीको छ, यसमा यति लगानी गर्नुपर्‍यो भनेर भन्न मिल्दैन जस्तो लाग्छ । कहाँ जानुपर्‍योभन्दा सबै लगानी एउटैलाई गर भन्नुभन्दा पनि जोखिमलाई हेरेर, योजना बनाएर काम गर्न सक्यो भने लगानी आकर्षण गर्न सकिन्छ । अहिलेसम्म हाम्रो संस्कार भनेको एउटालाई लोन दिएर त्यो पैसा बैंकमा १०–२० वर्षसम्म राख्ने गरेको पाइन्छ । यसले बैंकलाई जोखिममा राख्ने गर्छ । त्यो लोन एउटा यस्तो होस् कि जस्तो– उदाहरणका लागि इन्स्योरेन्सको दायित्व लामो समय छ अथवा दिगोरूपमा जान सक्छ । त्यसमा मैले लगानी गर्न सके भने  मेरो बैंकको ब्यालेन्स सिट त खुल्यो नि ।

अर्को ठाउँमा लगानी गर्न सक्छु र पूरै मध्यस्थकर्ता मात्र बन्नसक्छु भन्ने हुन्छ । यस्तो खालको परम्परा विकास हुनुपर्छ । यसका लागि वातावरण बनाइदिनुपर्छ । उपकरणको विकास गरेर, लगानी गर्न सहज बनाएर हुन्छ कि कसरी हुन्छ त्यसमा काम गर्नुपर्छ । हामीसँग आकर्षक प्रोजेक्टहरू छन् । हामीले राम्रो रिटर्न दिन सक्छौ तर अझै यसलाई राम्रो तरिकाले प्रस्तुत गर्ने हो भने धेरै लगानी आकर्षित गर्न सक्छौ जस्तो लाग्छ । 

विराटनगरदेखि अमेरिकासम्म तपाईंको बैंकिङ्ग क्षेत्रको यात्रा कसरी सम्भव भयो ? आज तपाईं जुन क्षेत्रमा हुनुहुन्छ त्यहाँसम्म पुग्ने वातावरण कसरी बन्यो ? 

म जन्मेको विराटनगर पोखरियामा हो । मैले १० कक्षासम्म त्यहीँ पढेको हुँ । त्यसपछि आइएससी  सेन्टजेभियर्स कलेज माइतीघरबाट गरेको हुँ । त्यसपछि स्नातक तह पढ्नका लागि म अष्ट्रेलिया गए । आइएससी गर्ने बेलासम्म फिजिक्स पढ्छु भन्ने थियो । आएससी सकेपछि  ट्रेड  डिप्लोम्याट बन्छु भन्ने दिमागमा आयो । अष्ट्रेलिया गएर इकोनोमिक्स पढ्ने भन्ने कुरा आयो । तर, त्यहाँ गएपछि म्याथ कडा पढ्नुपर्ने रहेछ । म्याथ चाहिँ पढ्छु भनेर सुरु गरियो । पछि एक समय अमेरिका जाने मौका मिल्यो । अस्ट्रेलियाबाट नै अष्ट्रेलियन स्टुडेन्ट भएर जाने मौका मिल्यो । त्यहाँको बैंकहरू हेर्न पाउँदा र  बैंकिङ्ग कल्चर हेर्न पाउँदा धेरै कुरा बुझ्ने मौका मिल्यो । खासगरी त्यहाँको वाल स्ट्रिट एक्सपिरियन्स गर्न पाउँदा बैंकर नै बन्ने हो भने यहाँ आएर बन्नुपर्ने रहेछ भन्ने कुराले जित्यो  । त्यसपछि म अध्ययनका लागि न्युयोर्क विश्वविद्यालय गएँ । त्यहाँबाट फाइनेन्सियल इन्जिनियरिङमा मास्टर्स गरेँ । त्यतिबेलासम्म मलाई थाहा थिएन फाइनेन्सियल इन्जिनियरिङ भनेको के हो भनेर । सुनेको पनि थिइन ।

विस्तारै सिटी ग्रुपमा काम गर्ने मौका मिल्यो । सिटी ग्रुपमा ग्लोबल बैंकिङ डिर्पाटमेन्टको भाइस प्रेसिडेन्टसम्म भएर निक्कै समय काम गरें । त्यो बेला एसिया प्यासिफिकमा पनि विग पोर्टफोलियो भएका मेक्सिको, कोरिया, सिंगापुर लगायतका देशहरू हेर्थे । पछि बुझ्दै जाँदा फाइनेन्सियल इन्जिनियरिङमा पनि क्रेडिट इन्स्ट्रुमेन्ट पो मेरो क्षेत्र रहेछ भन्ने बुझेँ । त्यसमापनि इन्भेष्टमेन्ट स्ट्राटेजी कोरमा काम गरें । क्रस रिभरबाट  ईन्भेष्टमेन्ट स्ट्राटेजीको विजनेस हेर्ने गरी आउनुपर्यो भनेर प्रस्ताव आयो । अनि गए । अहिले त्यहीँ क्रस रिभर बैंकमा मात्रात्मक रणनीतिकहरूको प्रमुखको रूपमा कार्यरत छु । 

सुरुमा सिटी ग्रुपमा प्रवेश गर्दा कुन प्रक्रियाबाट जानुभयो ? 

प्रतिस्पर्धाबाटै हो । त्यतिबेला क्रस रिभरले ग्लोबल मोडलिङ फंक्सन विस्तार गर्दै थियो । उनीहरुलाई त्यो फंक्शनभित्र मेक्सिको हेर्ने भाइस प्रेसिडेन्ट चाहिरहेको थियो । त्यसमा म खुला प्रतिस्पर्धाबाट छनोट भएँ  । 

अहिले नेपाली विद्यार्थीमा प्लस टू सक्नेबित्तिकै विदेश जाने दर बढ्दो छ । यसलाई कसरी हेर्नुहुन्छ ? 

यो नेचुरल प्रोसेस होजस्तो लाग्छ । ग्लोबलाइजेसनको एउटा परिणाम हो जस्तो लाग्छ । म पनि आजभन्दा १५–१६ वर्ष अगाडि त्यसरी नै आएको हुँ । यसले डायस्पोरालाई भाइब्रेन्ट  बनाउँछ, ग्लोबली । नेपाल ग्लोबल स्केलमा के हो, के लिएर आउँछ भन्ने कुराले नेपाललाई परिभाषित गर्छ । हाम्रो डायस्पोरा ग्लोबल स्केलमा, डिसिजन मेकिङ प्रोसेसमा, ठूलो संस्थामा नेतृत्वदायी भूमिकामा पुग्नु भनेको नेपालको लागि राम्रो कुरा हो ।

नेपालको विकासको लागि राम्रो कुरा हो । भारतलाई हेर्ने हो भने सर्भिस सेक्टरमा वान वफ दी बिग इकोनोमी किन बन्न सक्योभन्दा त्यो डायस्पोराकै कारण हो । ७० र ८० को दशकमा भारतबाट जो पढ्न जानु भएको थियो, उहाँहरू आजभन्दा ३० वर्ष अगाडि नेतृत्वदायी भूमिकामा पुग्नुभयो । विश्वबजारमा उहाँहरूको भूमिकाले भारतलाई धेरै फाइदा भइरहेको छ । त्यसैले, अहिले नेपालबाट पढ्न विदेश जानु भएकाहरूलाई त्यस हिसाबले पनि हेर्नुपर्छ । सम्भावना नभएको भन्ने नै हुँदैन । म हरेक पटक नेपाल आउँदा प्रोत्साहित भएर आउँछु । म नेपालमा ह्यभीली ईन्भेष्टेड छु । आजभन्दा पाँच वर्ष अघि र आज हेर्नुहोस् नेपालमा धेरै काम भएको छ । माइग्रेशन रोकेर रोकिने कुरा होइन । त्यसैले माइग्रेसन रोकाउनु छ भने नेपालले इन्गेज हुने कुरा दिनुपर्छ ।  

त्यसो भए विदेशमा बैंकिङ क्षेत्र पढेका वा अन्य विषय अध्ययन गरेका युवालाई नेपालका  सम्भावनाबारे के भन्न चाहनुहुन्छ ?

म हरेक पटक नेपाल आउँदा प्रोत्साहित र उत्साहित भएर आउँछु । नेपाल मताधिकार अर्थव्यवस्था भएको मुलुक हो ।  नेपालको विकासको लागि हामीहरूले आईडियाहरू लिएर आउन सक्छौं । त्यसैले त्यतातिर ट्याप गर्नुपर्छ । डायस्पोरामा हुुनुभएका साथीहरु नेपालकै बारेमा सोचिरहनु भएको छ । उहाँहरूलाई म यतिमात्र भन्नसक्छु– नेपालमा सम्भावना छ । 

  • प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया