नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एकअर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै सो प्रस्ताव गरेका हुन् ।
थापाले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।
उनले फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रूपमा प्रयोग गर्ने गरेको बताए ।
‘हाम्रो सन्दर्भमा एक अर्कालाई आरोपित गर्न, कसैले पनि कसैलाई खुइल्याउनुपर्यो भने सबैभन्दा सजिलो हतियार चाहिँ भ्रष्टाचारसँग जोडिएका विषय हुने भए । यहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री पनि आइरहनुभएको छ । भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने हो । त्यसको एउटा छलफल नै गरौँ । कुन–कुन फाइल खोल्ने हो शीर्ष नेता बसेर छलफल गरौँ,’ थापाले भने ।
उनले शेरा दरबार, ललितानिवास, गिरिबन्धुलगायत सबै भ्रष्टाचारसम्बन्धी फाइल खोल्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।