logo-img

६ संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

आज संघीय संसदअन्तर्गत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दैछ । 

बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिँदैछ । 

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्दैछ । बैठकको कार्यसूचीमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिको विषयमा छलफल हुँदैछ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ३१औँ बैठक पनि आज ११ बजे बस्दैछ । बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयास तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरममा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्ष र आगामी दिनमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिनेछ ।   



यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको ५५औँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिनेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को सम्बन्धमा छलफल हुँदैछ । 



यस्तै, आज संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको २९ औँ बैठक पनि बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ । बैठक बिहान ११ बजे बस्दैछ । 



  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया