logo-img

आगो ताप्नु र धूमपान फोक्सोका लागि घातक : डा. प्रतीक वाग्ले [अन्तर्वार्ता]

डा. प्रतीक वाग्ले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टरका रूपमा कार्यरत छन् । पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञका रूपमा सक्रिय उनी सन् २००७ देखि सोही अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिरहेका छन् । डा. वाग्ले लामो समयदेखि फोक्सो रोगीको चेकजाँच पनि गर्दै आएका छन् । प्रस्तुत छ, उनीसँग जाडोयाममा फोक्सोमा आइपर्ने समस्या, समाधान, निमोनियाबाट सुरक्षित रहने उपायलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :

यतिबेला जाडो मौसम छ । फोक्सोमा कस्ता किसिमका समस्या देखिन सक्छन् ? 

फोक्सोमा कतिपय रोग त दीर्घकालीन नै हुन्छन् । जस्तै, सिओपीडीक्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजदिर्घकालिन रोग नै हुन् । साधारण भाषामा त्यसलाई दम भनिन्छ । अन्य एलर्जी दमहरू पनि हुन सक्छन् ।  यस्ता रोग धेरैजसो बल्जिने खालका छन् । जाडोयाममा मानव शरीरमा हावा जाने नलीहरू सुनिने किसिमको भएकाले समस्या आउने हो । विशेषगरी चिसोमा हावा अलिकति ड्राइ नेचरको हुने र त्यसले नलीलाई अलिकति समस्या गराउने गर्छ । हावा जाने नली धेरै इन्जर्ड भएर समस्या बल्झिने गर्छ । इन्फेक्सन पनि कमन्ली यो टाइममा देखिन्छ । स्वासप्रश्वास नलीको इन्फेक्सन, ब्रोनक्राइटिस पनि कतिपय अवस्थामा एलर्जीकै कारण हुने गर्छ । सम्बन्धित अर्गानिजममा किटानुले समस्या निम्त्याउन सक्छ । निमोनिया पनि ब्याक्ट्रेरियल र भाइरल निमोनिया देखिनसक्छ । त्यति मात्रै होइन ढुसी, फगंल इन्फेक्सन पनि यस्तैबेला देखिन्छ  । हुन त अरूबेला पनि फगंल इन्फेक्सन रोगसँग लड्ने क्षमता कम हुने समयमा बढीपोलिफ्रेड हुन्छन् । तर, यिनीहरू जाडोकै समयमा देखिनसक्छ । समग्रमा भन्नुपर्दा यो चिसो समयमा सबै रोग बल्झिने समस्या भइरहन्छ । 

चिसोको कारणले फोक्सोमा देखिने समस्यामा कुनै उमेर विशेष हुन्छ ? वा कुन उमेरका व्यक्तिलाई बढी जोखिम हुन्छ ?



यस विषयमा कुरा गर्दा विशेषगरी भन्ने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामै भरपर्ने कुरा हो । एक्सट्रिम अफ एज भनिन्छ नि साना उमेरका र उमेर बढी भएकाहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यही भएर समस्या देखिने गर्छ । कम उमेर समूह भएका मानिसको प्रतिरोधात्मक क्षमता बढी हुन्छ । त्यसैले उनीहरूमा फोक्सोसम्बन्धी समस्या कम देखिन्छ । मानिसले रोगसँग लड्ने क्षमता कम गराउन औषधि खाइरहेका हुन्छन् । डाइबेटिज जस्ता समस्याले रोगसँग लड्ने क्षमता कम हुन्छ र यस्ता मान्छेमा दीर्घकालीन रोग किड्नीको समस्या देखिनसक्छ । कतिपयले बाथ रोगका कारण औषधि खाइरहेकाहरू हुन्छन् । जसका कारण रोगसँग लड्ने क्षमता घटाइदिन्छ । त्यस्तोमा फोक्सोसम्बन्धी इन्फेक्सन बढी देखिने चान्स हुन्छ ।

यस वर्षको हिउँदमा लामो समयदेखि वर्षा भएको छैन, वायु प्रदूषण बढेको छ । यसले मानव स्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?



पोलुसनले शरीरका कुनै पनि अंगलाई राम्रो गर्दैन । अब स्वासप्रस्वाशको कुरा चाहिँ कस्तो हो भने हाम्रो नाक–मुखबाट जाने हावा नै प्रमुख कुरा हो । बाहिरी वातावरणसँग टच हुने कुरा हो । त्यसकारण मानव स्वास्थ्यमा यसको प्रभाव बढी हुनसक्छ । यसबारे सुरुमा पनि मैले भने अलिकति चिसो समयमाड्राइ एयरका कारण असर देखिने हो । ड्राइ एयरमाथि पनि पोलुसनयुक्तजुन वातावरण छ त्यो घातक हुन्छ । त्यस्तो बेला कण हावा जाने नलीमा छिरेर त्यसले झन् बढी असर गर्नका साथै अझ अरू रोग पनि निम्त्याउन सक्छ । 

त्यसो भए चिसो र प्रदूषणबाट फोक्सोलाई कसरी स्वस्थ राख्ने ?



सबैभन्दा प्रभावकारी भनेको त मास्क नै हो । पहिलादेखि नै प्रयोग भए पनि कोभिड महामारीपछि मास्कको प्रयोग अलि बढेको छ । मास्कको पनि विभिन्न प्रकार छन् । क्लोथवाला मास्क छन, सर्जिकल मास्क प्रयोग भइरहेको हुन्छ । अन्य प्रकारका पनि छन् । फोक्सो जोगाउनका लागि स्वस्थ जीवनशैली नै अपनाउने हो । धूमपान र मद्यपान नगर्ने त्यसैगरी व्यायाम पनि गर्नुपर्ने हुन्छ । त्यसले मानव स्वास्थ्यमा राम्रै सहयोग पुर्याउँछ । 

अर्को कुरा चाहिँ जाडोबाट जोगिनको लागि धेरै लेयरका लुगा लगाउने चलन छ । एउटै लगाउने पनि गरिन्छ । तर, लुगा बाक्लो लगाउनेभन्दा पनि न्यानो लगाउनु राम्रो हुन्छ । धेरै लेयरको लुगा लगाउँदा त्यसले इन्सुलेटको काम पनि गरिराखेको हुन्छ । एउटाबाट छिरेको चिसो अर्कोले छेक्छ । अर्को भनेको चिसो धेरै भयो भनेर एयर कन्डिसनर राख्ने गरिन्छ । एयर कन्डिसनरकै प्रभाव पनि कति छ त भन्ने पनि अध्ययन भइरहेको पाइन्छ । बाहिर एकदमै १० डिग्री सेन्टिग्रेटको चिसो छ र घरमा चाहिँ २४ डिग्रीमा तताइराखेको छ भने त्यसले पनि असर गर्छ । अरू रोकथामको लगि भनेको त भ्याक्सिन लगाउन सकिन्छ । 

जाडोयाममा बिहानीपख बाहिर व्यायाम गर्नु वा मर्निङ वाक जानु कति उचित छ ?

व्यायाम गर्न, मर्निङवाक गर्न उचित नहुने भन्ने छैन । व्यायामको कुनै पनि नकरात्मक असर छैन । खासगरी चिसोबाट चाहिँ बच्नुपर्छ । तापक्रम व्यवस्थापन गरेर व्यायाम गर्यो भने पनि झनै राम्रो हुन्छ । बिहानको समयमा नै गर्ने हो भने पनि ठिकै छ । बेलुकीको समयमा गर्ने हो भने पनि ठिकै छ । व्यायामका कारण शरीरलाई कुनै हानी छैन । फोक्सोको समस्या हुनेले पनि मजाले व्यायाम गर्न मिल्छ । तर, सकिनसकि गर्नुपर्छ भन्ने चाहिँ छैन । बाहिर गएर दौडिन नै पर्छ भन्ने चाहिँ छैन । शरीरको औँला चलाउने गर्नुपर्छ, हिँडाइको स्पिड मात्रै बढाउने हो भने पनि त्यसले राम्रो हुन्छ । 

विशेषगरी दमका रोगी चिसो मौसममा बढी प्रभावित भएको पाइन्छ । उनीहरूले यसयाममा कस्ता कुरामा ध्यान दिनुपर्छ ?  

चिसो समयमा बढी प्रदूषणको लेबल पनि बढ्दै जान्छ । आगो ताप्ने चलन छ त्यसबाट कार्बन डाइयाक्साइड बनिरहेको हुन्छ । त्यसले पनि समस्या गराउनसक्छ । नत्र त चिसो र गर्मी दुवै जोखिमयुक्त नै हुन्छन् । चिसोको समयमा बढी समस्या हुनसक्छ । किनकी प्रदूषणको लेबल पनि बढ्छ  । बच्नको लागि त न्यानो भएर बस्ने हो, स्वास्थ्य जीवनशैली अपनाउने हो र व्यायाम गरिरहने हो । ब्यालेन्स डाइट खाने गर्नुपर्छ । जाडोमा दमका बिरामीमा कार्बन डाइयाक्साइड बढ्नसक्छ । कार्बोहाइड्रेट अहिले कति कम भएको खानपान गर्ने कन्सेप्ट पनि थियो । तर, आजभोलि त्यो कन्सेप्ट हट्दै गएको छ । र प्रोटिनयुक्त खानेकुरा जुन हाम्रो मसललाई चाहिने हुन्छन् त्यस्तो खानपान र स्वस्थ जीवनका लागि साग सब्जी बढी खाँदा राम्रो हुन्छ । विशेष गरी खाना सादा र प्रोटियुक्त खानु नै राम्रो हुन्छ । फोक्सोको हिसाबले डाइटमा यो खाने त्यो नखानेभन्दा पनि आफूलाई एलर्जी गराउने कुरा बार्नुपर्छ । खान हुने नहुने भन्ने चाहिँ त्यस्तो खास छैन । 

जाडोमा विशेषगरी निमोनिया धेरै हुने गरेको पाइन्छ । यसको मुख्य कारण के हो ? यसका लक्षण के–के हुन्छन् ?

फोक्सो सुन्निने अवस्थालाई निमोनिया भनिने हो । यसमा धेरैजसो कारण इन्फेक्सन नै हो । निमोनिया भाइरस, ब्याक्टेरिया, फक्गलले गर्दा हुन्छ । निमोनिया टिपिकल र अटिपिकल निमोनिया भन्ने हुन्छन् । टिपिकल निमोनियामा ज्वरो, खोकी, खकार आउने, सास फेर्न गाह्रो हुने, कसैलाई छाती दुख्ने, वाक वाक लाग्ने, जिउ दुख्ने समस्या हुन्छ । एक्सरे गर्दा पनि टिपिकल फिचर हुन्छन् । यसबाट दाग देखिने, इन्फेक्सन हुने वा पिप जमेको हुन्छ । वास्तवमा फोक्सो भनेको बेलुन जस्तो हो । फोक्सोमा पिप जमेपछि सबै बेलुन भरिएको जस्तो देखिन्छ । कन्सोलिडेशन भन्ने फिचर देखिन थाल्छ । 

जाडो महिनामा चाहिँ किन यस्ता समस्या बढी देखिन्छ ?

तापक्रमले गर्दा इन्फेक्सन बढ्ने पनि हुन्छ । अर्को कुरा भनेको एकजना इन्फेक्सन भएको मान्छे आयो, बन्द कोठामा बसेको छ भने त्यो मान्छेले बोल्दा, हाच्छिउँ गर्दा, खोक्दा पनि भाइरस आउने हुन्छ । चिसोमा बढी मात्रामा बन्द कोठामा बस्ने गरिन्छ यसकारण पनि अरूमा इन्फेक्सन सर्ने डर हुन्छ । 

बच्चामा निमोनियाको समस्या बढी देखिन्छ भनिन्छ । यसलाई कसरी हेर्नु हुन्छ ?

अलिकति ज्वरो र खोकी लाग्नेबित्तिकै सबैलाई निमोनिया भयो भन्ने चलन छ । तर, कतिपय अवस्थामा यो वास्तविकरूपमा निमोनिया नहुनसक्छ । कतिपय सानो बच्चामा एलर्जीको दम सानैदेखि देखिन्छ । पहिला चरणको एलर्जीलाई पनि निमोनिया भनेको पाउँछौँ । तर, सानो उमेरमा रोगसँग लड्ने क्षमता कम नै हुने हुँदा निमोनियाको खतरा रहन्छ नै ।  

तपाईंसँग चेकअप गराउन आउने बिरामीमध्ये कस्तो खालको बिरामी बढी आइरहेका छन् ? 

सबैभन्दा धेरै त धूमपानबाट हुने सिओपीडीका बिरामी छन् । सिओपीडी तहकै उपचार गराउने आउने गर्नुहुन्छ । त्यसको पनि क्राइट एरिया हुन्छ । सबै सिओपीडीका हुन्छन् भन्ने पनि हुँदैन । अरू कारणले फोक्सोमा दाग हुनसक्छ जस्तो पोस्ट कोभिड, पोस्ट टिभीले गर्दा पनि फोक्सोमा दाग बन्छ । त्यसका कारणले पनि फोक्सो धेरै तन्किन पाउँदैन । फोक्सो भनेको त इलास्टिक जस्तै हो तन्किने, खुम्चिने हुन्छ । दागहरू गर्दा फोक्सो धेरै तन्किन नपाएपछि स्वाँ–स्वाँ हुने धेरै सम्भावना हुन्छ । यस्तो खालको बिरामीलाई पनि सिओपीडी नै भनिन्छ । कतिपय त फोक्सोबाहेक मुटुको कारणले गर्दाले पनि स्वाँ–स्वाँ हुनसक्छ । यसले हृदयघात पनि हुनसक्छ । यस्तो प्रकारको रोगलाई पनि दम नै भनिन्छ ।  

त्यही भएर बिरामीको अवस्थामा विभिन्न परिवर्तन आइरहन्छ । समग्रमा भन्नुपर्दा सिओपीडीको समस्या धेरै चुरोटको धुवाँ र दाउरामा खाना पकाउने कारणले हुन्छ । हावा जाने नली सुन्निएर बिग्रिँदै गइरहेको हुन्छ । जसलाई सिओपीडी भनिन्छ र यही बिरामी नै बढी देखिन्छन् । 

चाडोमा बढी आगो ताप्ने गरिन्छ । साथै हिटर र गिजरको पनि बढी प्रयोग हुन्छ । यसले फोक्सोमा कस्तो खालको असर गर्छ र सुरक्षितरूपमा यसको प्रयोग कसरी गर्न सकिन्छ ?

यसमा पहिलो दाउरा बाल्ने कुरालाई कम गर्नैपर्छ । पकाउनको लागि आगो बाल्ने कुरा त हराउनैपर्ने कुरा हो । तर, अझै पनि प्रयोगमा छ । आगो बालेको जुन ग्यास र फ्युज हुन्छ त्यसले टक्सिक म्याटेरियल बोकेकै हुन्छन् । त्यसले गर्दा असर गरेकै हुन्छ । कण सानो–सानो हुन्छ र कणहरूको साइजअनुसार क्लासिफाई गरिएको हुन्छ । अल्ट्राफाइन पार्टिकल भनिन्छ नि त्यसमा ०.१ माइक्रोजभन्दा कम हुन्छ । तिनीहरू गएर हावा जाने नलीभित्रै कतै गएर अड्किन्छन् । सानो हुने भएकाले जहाँसम्म पुग्नुपर्ने त्यहाँसम्म नपुगेर बाहिरै फर्कन सक्छ ।

छिरेर सिधै रगतकै नलीसम्म क्यापिलरिसम्म नै गएमा त्यसले असर गर्छ । हावा जाने नलीमा समस्या हुन्छ र त्यसले स्वास्थ्यमा असर देखिन्छ । त्यस्तो असर दोहोरिएपछि दाग बन्दै जान्छ । जुन थाक्न पाउँदैन र दीर्घकालीन असर देखिन थाल्छ । यस्तै, ग्यास गिजर र अरू खालका गिजर जुन छन् जसले स्मोक प्रड्युस गर्दैन । तीनिहरूले पनि टेम्परेचरलाई ड्राइ बनाइदिन्छ । ड्राइ एयर कन्डिसनरले पनि समस्या निम्त्याउन सक्छ । एयर कन्डिसनरले पनि ड्राइ एयर निकालिरहेकै हुन्छ । नीतिहरूले पनि हावा जाने नलीलाई विस्तारै असर पुर्याउन सक्छ । 

नेपालमा फोक्सोसम्बन्धी सबै उपचार सम्भव छ ? 

विदेशतिर फोक्सो प्रत्यारोपण हुने गरेको पाइन्छ । तर, नेपालमा बल्ल त किड्नीको  प्रत्यारोपण सुरु भएको छ । कतिपय रोगको उपचार प्रत्यारोपणबाट मात्र हुन्छ । कतिपयमा लामो प्रत्यारोपण नै गुर्नपर्ने अवस्था छ । नेपाल अहिले फोक्सो प्रत्यारोपणमा गएको छैन ।  कतिपय रोगहरूको उपचार भनेको प्रत्यारोपण नै हुन्छ । कतिको त फोक्सो प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आउँछ । त्यस्तो व्यवस्था छैन नेपालमा । नेपालमा ट्रान्सप्लान्ट रोगको उपचार नै छैन । तर, थामथुम गर्नको लागि औषधि पर्याप्त छन् । तर, लामो समयका लागि प्रत्यारोपण गर्ने विधि नेपालमा छँदै छैन । फोक्सो प्रत्यारोपण नभएको त होइन । तर, त्यसको लागि नेपालमा सेवासुविधा नै छैन ।

प्रत्यारोपण जस्तो विधिलाई बलियो बनाउँदै लानुपर्ने हुन्छ । यसको लागि सरकारले पनि ध्यान दिनुपर्छ । कतिपय कुरामा चाहिँ खर्चको कुरा पनि हुन्छन् । किनकी फोक्सोको उपचार गराउनुभएका कतिपय बिरामी दोहोरिएर डाक्टरको आइरहनुभएको हुन्छ । कतिपय कुराहरू मोनिटरिङ गराइराख्नुपर्ने हुन्छ । हेर्नका लागि सिटी स्क्यान नै गर्नुपर्ने हुन्छ । सिटी स्क्यान त्यति सस्तो पनि छैन । धेरै महँगो छ । भारतकै मेडिकल कलेजको पनि हेर्ने हो सबैमा सिटी स्क्यानको मूल्य फरक–फरक छ । कतिपय जानेको कुरा अप्लाई गर्नको लागि पनि गाह्रो नै छ । अर्फोट गर्न सक्नेहरू पनि रिक्स लिन नचाहेर हो अथवा के कारणले हो बाहिरतिर पनि रिफर गरिरहेका हुन्छन् । तर, धेरै ठूलोको उपचार नेपालमा गर्न नसकिए पनि साधनस्रोत भए अहिले पनि गर्न सम्भव छ ।

  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया