काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार मृत फेला परेकी कागेश्वरी मनोहराकी २१ वर्षीया सुस्मिता खड्का जापान जाने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुस्मिताका आफन्तले प्रहरी समक्ष उनी जापानी भाषा अध्ययन गरिरहेको बताएका थिए ।
त्यसैगरी उनीसँगै होटलमा बस्न गएका ओखलढुंगाका देवबहादुर थापा पनि केही समयअघि जापानबाट फर्किएको खुलेको छ । उनी बिहीबार नै जापान फर्किने तयारीमा समेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती युवक यही मंसिरको अन्तिम साता जापानबाट काठमाडौं आएको देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए । थापाकै नामबाट हाेटलकाे कोठा बुक भएको पनि प्रहरी स्राेतले जनाएको छ ।
२३ वर्षीय थापासँग नयाँ वर्षको अघिल्लो दिन ती युवती उक्त होटलमा पुगेकी थिइन् । त्यसको भोलीपल्ट गत बुधबार (पुस १६ गते) होटलकै कोठामा युवती खड्का मृत अवस्थामा फेला परेकी थिइन् । मंगलबार कोठामा बस्न आएका युवायुवती ढोकामा ताला लगाएर सम्पर्कविहीन भएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।
घटना घटाएर ढोका बाहिरबाट ताल्चा लगाएर युवक फरार भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । तर युवक अहिलेसम्म पक्राउ परिनसकेकाले घटनाको सत्यतथ्य भने खुलेसकेको अवस्था छैन । अनुसन्धानको क्रममा युतवीसँगै होटलमा बस्न आएका ती युवकले मृत युवतीको मोबाइल समेत लिएर गएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।
कोठामा रेडबुलको बट्टाबाहेक अन्य कुनै खानेकुराहरू नभेटिएको प्रहरीले जनाएको छ । युवतीको शरीरमा कुनै चोटपटक नलागेको प्रहरी अधिकारीहरू बताउँछन् । घटनास्थल मुचुलका गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किएजस्तो पदार्थ देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाइ छ ।
पोस्टमार्टमका लागि युवतीको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अहिले उक्त घटनामाथि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।
याे पनि...
गौशाला घटना : सुस्मिताको हत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।