logo-img

नेपालमा पनि मंकीपक्सले लिनसक्छ महामारीको रूप, नियन्त्रण गर्न के गर्दैछ सरकार ?

रोजगारीका सिलसिलामा साउदी अरब पुगेका ३६ वर्षीय युवकलाई गत ४ पुसमा एमपक्स (मंकीपक्स) संक्रमण पुष्टि भयो । नेपाल फर्किएलगत्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु पुगेका ती युवकमा एमपक्स भएको पुष्टि भएको हो ।

त्यसको एक साताभित्र साउदी अरबबाटै आएका ४४ वर्षीय अर्का एक पुरुषमा पनि एमपक्स संक्रमण पुष्टि भयो । पुसको सुरुमै दुईजना र गत वर्षको असार महिनायता नेपालमा एक विदेशीसहित तीन जनामा एमपक्सको संक्रमण देखिएपछि नेपालमा चौतर्फी चासो र डरको वातावरण सिर्जना भएको छ ।

संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले १४ वटा अस्पताललाई फोकल अस्पताल तोकेर त्यहाँ परीक्षण र उपचार गर्ने व्यवस्था मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रोजगारीका लागि विदेश गएका नेपाली युवा संक्रमणग्रस्त मुलुकबाट फर्किनेहरूसँग आएको एमपक्सको संक्रमण समुदायसम्म पुग्न सक्ने खतरा उच्च रहेकाले त्यसको निगरानी र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।



नेपालमा एमपक्स एकपछि अर्को गर्दै भित्रिने क्रम देखिएको छ । यससँगै समुदायमा फैलिने जोखिम र यसबाट सावधानी अपनाउने बारेमा पनि बहस सुरु भएको छ । चिकित्सकका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।



एमपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा एमपक्स कम गम्भीर र बिरलै घातक हुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी एकपक्सको नमूना लिने र भेरियन्ट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आवश्यक पर्ने सामान तयारी अवस्थामा राखिएको बताउँछन् ।

‘जनस्वास्थ्य प्रयोगशालामा रोग पहिचान गर्न प्रयोग गरिने उपकरण तयारी अवस्थामा छन् । यो बेला आत्तिनेभन्दा पनि सजक र सतर्क हुन आवश्यक छ,’ डा. बुढाथोकीले भने ।



उनले नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल र सचेतना फैलाउनका लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको दाबी गरे ।

कसरी सर्छ मंकीपक्स ?

विश्वव्यापी बिफर खोपको अन्त्यपछि एमपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तररूपमा देखा परिरहेको छ । मंकीपक्सले २०२२/०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर, यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । बाँदर र लोखर्के जस्ता जंगली जनावरबाट यो भाइरस सर्ने गर्छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार ‘एमपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा पनि ‘एमपक्स’ सर्ने जोखिम उच्च हुने उनको भनाइ छ ।

‘एमपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ,’ डा. पुन भन्छन्, ‘रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।’

कसरी सतर्क रहने ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी देशहरूमा एमपक्सको प्रकोप बढेपछि जनस्वास्थ्यको संकट घोषणा गरेको थियो । डब्ल्यूएचओले संकटको घोषणालाई निरन्तरता दिइरहेको छ । यस अर्थमा पनि एमपक्सको जोखिम कायमै छ भन्ने बुझिन्छ । नेपालमा एमपक्सको जोखिम मध्यपूर्वका देशहरूबाट मात्र छैन । तर, सजगता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

‘हाल यातायातको सहज पहुँचका कारण विश्वका कुनै पनि देशबाट नेपालमा आयातीत नहोला भन्न सकिँदैन,’ डा. पुन भन्छन्, ‘यसको फैलिने जोखिम नेपालमा विभिन्न कारणले रहे पनि समयमा नै पहिचान गरी सही परामर्श वा उपचार गर्न सके यो रोग सहजै निको हुनसक्छ ।’ किशोरावस्थाका व्यक्तिहरूलाई पनि एमपक्स देखिएको अध्ययनहरूले देखाएका कारण त्यसप्रति विशेष रूपमा सचेत रहनुपर्ने आवश्यकता रहेको डा.पुनको भनाइ छ । 

चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘एमपक्स’को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हुन् । यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन थाल्छन् र चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन् । तर दाग बसिरहन सक्छ ।

एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न डा. पुन सुझाउँछन् ।

‘सामान्यतया यो आफैं ठीक भएर जाने भाइरल भएकाले यसको कुनै विशेष उपचार छैन,’ डा. पुन भन्छन्, ‘बिरामीलाई पर्याप्त तरल पदार्थ र पौष्टिक खाना खुवाउने र त्यसपछि पनि अरु संकेत देखिएमा भिन्न तरिकाले उपचार गर्नुपर्ने हुन्छ  ।’

  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया