logo-img

जय ट्रफी एलिट कप गुमाउने चार चर्चित खेलाडी [भिडियोसहित]

जय ट्रफी अर्थात् एलिट कपलाई नेपाल क्रिकेट संघ (क्यान) ले ऐतिहासिक प्रतियोगिताको रूपमा लिएको छ । किनकी जय ट्रफी पहिलोपटक दुईदिवसीय प्रारूपमा हुँदैछ ।

वर्षौंअघि जय ट्रफी एकदिवसीय प्रतियोगिताको रूपमा आयोजना हुन्थ्यो । यसपालि भने क्यानले प्रथम श्रेणी क्रिकेट प्रतियोगिताको विकासका लागि भन्दै जय ट्रफीलाई दुईदिवसीय ढाँचामा खेलाउन लागेको हो ।

यस्तै, फाइनल खेल तीनदिवसीय हुने क्यानले जनाएको छ । यही २१ पुसदेखि पर्साको वीरगञ्ज र जनकपुरमा आयोजना हुन लागेको यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको शीर्ष चार टोलीले भाग लिने छन् । ती चार टिम हुन्, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेस प्रदेश । 



लामो समयपछि नेपालमा दुईदिवसीय क्रिकेट आयोजना हुँदा खेलाडी र समर्थक उत्साहित छन् । यस प्रतियोगितामा राष्ट्रिय टिमका नियमित सदस्य पनि हुने छन् । तर, नेपाली टिमका केही महत्वपूर्ण खेलाडीले भने जय ट्रफी गुमाउने छन् । 

जय ट्रफी गुमाउने चार प्रमुख खेलाडी : 



दीपेन्द्र सिंह ऐरी

जय ट्रफी गुमाउने सर्वाधिक ठूलो नाम हो, दीपेन्द्र सिंह ऐरी । उनको कप्तानीमा गत संस्करणको प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब च्याम्पियन भएको थियो । तर, दीपेन्द्रलाई जय ट्रफीमा भने देख्न पाइने छैन । किनकी उनी यो प्रतियोगिताको समयमा यूएईमा हुनेछन् । त्यहाँ दीपेन्द्रले अन्तर्राष्ट्रिय लिग टी–२० खेल्ने छन् । उनी सो लिगमा गल्फ जायन्ट्समा अनुबन्धित छन् ।



दीपेन्द्रआबद्ध टिमको पहिलो खेल १२ जनवरीमा हुनेछ । उनले एलिट कप गुमाउने भएपछि पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने छन् ।

रोहितकुमार पौडेल

जय ट्रफी सञ्चालनका बेला राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल भने फुर्सदमा हुनेछन् । किनकी उनी नेतृत्वको नेपाल एपिएफ क्लबले गत पिएम कपको शीर्ष चारमा स्थान बनाउन सकेन । सोही कारण रोहितले जय ट्रफी खेल्न पाउने छैनन् । गत प्रधानमन्त्री कपमा एपिएफ पाँचौं भएको थियो । 

अनिलकुमार साह

जय ट्रफी गुमाउने अर्का महत्वपूर्ण नेपाली खेलाडी हुन्, अनिलकुमार साह । उनी नेपाल प्रिमियर लिग (एनपिएल) का क्रममा घाइते भएका थिए । उनको बायाँ हातको औँलामा चोट लागेको छ ।

सोही चोटका कारण अनिलले एनपिएलको प्लेअफ र फाइनल म्याच खेलेका थिएनन् । चोट पूर्णरूपमा ठिक नभएकाले उनले एलिट कप पनि गुमाउने भएका हुन् । मधेश प्रदेशलाई एलिट कपमा पुर्याउन अनिलले प्रधानमन्त्री कपमा सानदार प्रदर्शन गरेका थिए, जहाँ उनले ९ खेलमा एक शतक र दुई अर्धशतसहित सर्वाधिक ३ सय ८६ रन बनाएका थिए ।  

आसिफ शेख

एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सका मार्की प्लेयर आसिफ शेखले पनि जय ट्रफी एलिट कप गुमाउने छन् । उनले एपिएफबाट घरेलु क्रिकेट खेल्ने गर्छन् । आसिफले गत प्रधानमन्त्री कपमा पनि राम्रो प्रदर्शन गरेका थिए ।

सो संस्करणमा उनले ६ खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा २ सय ४ रन बनाए । यद्यपि एपिएफले शीर्ष चारमा भने स्थान बनाउन सकेन । सोही कारण आसिफले एलिट कप गुमाउने भएका हुन् ।  

  • प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया