logo-img

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

 चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् । 

यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आवागमन कम भएपछि यहाँ सञ्चालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् । 

ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी संघकाका अध्यक्ष जीवन अदैले बताए । ढोरपाटनमा घुम्ती बसाइ हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उनको भनाइ छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताए । 

‘योयाम नै ढोरपाटनमा कम चहलपहल हुने गर्छ । चिसो बढेको छ। चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन् । मंसिरसम्म दैनिक १५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०/४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको सङ्ख्या बढ्दै गएका छन्,’ उनले भने ।  



पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर, अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुना आउन कम भएपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताए। पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उनको भनाइ छ ।

अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुना ढोरपाटन पुग्ने गरेका छन् । पश्चिम बागलुङको ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ। तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ । रासस 





  • प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया