logo-img

काभ्रेका १६ हजार किशोरीलाई एचपिभी खोप

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस)विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्यांक संकलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ ।

कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।

कार्यालयको तथ्यांक अनुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तीन हजार आठ सय ६६, कक्षा ७ मा तीन हजार ३३, कक्षा ८ मा तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ जना गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ ।



यस्तै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताइन् । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको संक्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो  स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ ।



एक तथ्यांक अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।



  • प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया