logo-img

तीन हजार जनालाई कपडा वितरण

ब्राह्मण समाज कैलालीले विपन्न समुदायका लागि कपडा वितरण सुरु गरेको छ । यही पुस १ गतेदेखि सुरु गरिएको कपडा वितरण हालसम्म तीन हजार नागरिकसम्म पुगेको समाजका अध्यक्ष रामप्रसाद रिमालले बताएका छन् ।

‘कसैसँग धेरै कपडा हुने र कसैसँग नहुने अवस्था भएकाले भएकाबाट संकलन गरेर नहुनेलाई वितरण सुरु गरिएको हो’, उनले भने, ‘सबैतिरबाट सहयोग मिलेको छ । नयाँ र पुराना सबैखाले कपडा उपलब्ध भएका छन् ।’

चिसो बढेपछि कपडा वितरण केन्द्रमा दैनिक तीन सय जनासम्म कपडा लिन आउन थालेको उनले बताए । ‘एक जनालाई दुई जोर लुगा दिने गरेका छौँ, अत्यावश्यक भएकाले लुगा आफैँ छानेर लैजाने गर्नुभएको छ’, उनले भने ।

न्यानाे लुगा लिन आएका ७८ वर्षे सुरेन्द्र चौधरीले दुई वटा ज्याकेट पाए । ‘लाइनमा बस्न सक्दिन, मलाई लुगा मिलाइदिनुस् भनेपछि दुई वटा ज्याकेट पाए’, उनले भने, ‘घरमा बुढाबुढी मात्र छौँ, कमाउन सक्दैनौँ, जाडो छेक्न न्यानाे लुगा छैनन्, यी ज्याकेट पाएपछि सजिलो भयो ।’



जानकी गाउँपालिका-१ दुर्गौलीकी फुलमती चौधरीले चिसो मौसममा यसरी निःशुल्क रूपमा कपडा वितरण गर्नु राम्रो काम भएको बताए । ‘लुगा किन्न नसक्ने हामी जस्तालाई ठूलो सहयोग हो’, उनले भने, ‘कसैका घरमा टन्न लुगा हुन्छन्, कसैसँग एकसरो लुगा हुँदैनन्, यस्ता व्यक्तिलाई लुगा पाइने यो कार्य पुण्यको काम हो ।’

प्रेरणा चौधरी र शान्ति थारुले चिसोमा लुगा कपडा किन्न नसक्नेका लागि निःशुल्क लुगा वितरणले राहत मिलेको बताए । एकतानगर बस्तीकी रमा भुल एक घण्टासम्म लाइनमा बसेर एक वर्षको बच्चा र आफ्ना लागि चाहिने लुगा लिएर गइन् । ‘आफ्ना लागि लुगा लिन आएकी थिए, बच्चाका कपडा पनि पाएँ’, उनले भनिन् ।





  • प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया