logo-img

अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो, ३-१ ले जित्यो सिरिज
भारतको फाइनल पुग्ने यात्रा समाप्त

भारतविरुद्धको टेस्ट सिरिज घरेलु टिम अस्ट्रेलियाले जितेको छ । आइतबार सम्पन्न पाँचौं टेस्टमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले पाँच खेलको सिरिज ३–१ ले जितेको हो । 

अस्ट्रेलियाले उत्कृष्ट कमब्याक गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो । अस्ट्रेलियाले पहिलो टेस्टमा २ सय ९५ रनको लज्जास्पद हार बेहोरेको थियो । 

दोस्रो टेस्टमा भने उसले भारतलाई १० विकेटले हरायो । भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट ड्र हुँदा चौथो टेस्टमा अस्ट्रेलिया १ सय ८४ रनले विजयी भयो ।  



पाँचौं खेलमा भारतले दिएको १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि उस्मान ख्वाजाले ४१ र साम कोन्स्टान्सले २२ रन बनाए । अविजित रहेका बेउ बेवस्टारले ३९ र ट्रभिस हेडले ३४ रनको योगदान दिए ।

भारतका लागि प्रसिद्ध कृष्णाले तीन र मोहम्मद सिराजले एक विकेट लिए । अस्ट्रेलिया पहिलो इनिङमा १ सय ८१ रनमा अलआउट भयो । उसका लागि बेउ बेवस्टारले ५७, स्टिभ स्मिथले ३३, साम कोन्स्टासले २३, एलेक्स क्यारीले २१ र कप्तान प्याट कमिन्सले १० रन जोडे ।



भारतका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले तीन/तीन तथा जसप्रित बुमराह र नितिशकुमार रेड्डीले दुई/दुई विकेट लिए । पहिलो इनिङमा भारत १ सय ८५ रनमै अलआउट भयो । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको भारत ७२.२ ओभरमा १ सय ८५ रनमा अलआउट भएको हो ।



उसका लागि ऋषभ पन्तले ४०, रवीन्द्र जडेजाले २६, कप्तान जसप्रित बुमराहले २२, शुभमन गिलले २०, विराट कोहलीले १७, वासिङ्टन सुन्दरले १४ र यशस्वी जैसवालले १० रन जोडे ।

अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले चार, मिचेल स्टार्कले तीन, प्याट कमिन्सले दुई र नाथन लायनले एक विकेट लिए ।

दोस्रो इनिङमा भारत १ सय ५७ रनमै अलआउट भयो । उसका लागि ऋषभ पन्तले ३३ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए । यस्तै, यशस्वी जैसवालले २२, केएल राहुल, शुभमन गिल र रवीन्द्र जडेजाले १३/१३ तथा वासिङ्टन सुन्दरले १२ रन जोडे ।

अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले १६.५ ओभरमा ५ मेडनसहित ४५ रन दिएर ६ विकेट लिए । यस्तै, कप्तान प्याट कमिन्सले तीन र बेउ बेवस्टारले एक विकेट हात पारे ।  

भारतको फाइनल पुग्ने यात्रा समाप्त

अस्ट्रेलियाविरुद्धको पाँचौं टेस्टको हारले भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने झिनो आशा पनि समाप्त भएको छ । फाइनल पुग्ने सम्भावना जीवित राख्न भारत अस्ट्रेलियाविरुद्धको पाँचौं टेस्ट जित्नैपर्ने दबाबमा थियो ।

साथै, उसको त्यो समीकरण पूरा हुन अस्ट्रेलियाले श्रीलंकाविरुद्ध दुई टेस्टमा लगातार हार बेहोर्नुपर्ने थियो । तर, पाँचौं टेस्टमा पनि अस्ट्रेलियाले भारतविरुद्ध फराकिलो जित निकाल्यो ।

याेसँगै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ । उसले अब उपाधिका लागि आउँदो जुनमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । 

  • प्रकाशित मिति : पुस २१, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया